

तिहार पर्खिरहेका ‘सयपत्री र मखमली’ (फोटोकथा)



राजेन्द्र खनाल, कपिलवस्तु । वर्षा सकिएर भर्खरै शरदले छोएको आँगन, डिलैमा लहरै फुलिरहेका मखमली र सयपत्रीका बोट । शहर देखि गाउँ सम्म झिलिमिली बत्तीको रङ अनि यसैसँग जोडिएको सप्तरङ्गी टिकाले सजिएको तिहार । यतिबेला नेपालीहरुका घर आँगनमा साँच्चै तिहारले छपक्कै छोपेको छ ।
बजारको किनमेलका लागि दिदीबहिनीलाई चटारो परेको छ । आमाहरुलाई घरमा सेलरोटी र अनरसामा स्वाद भर्ने तरखर छ । दाजुभाइले दिदीबहिनीको बाटो कुरीरहेछन् । भर्खर बडादशैँ पठाएर धान समेत भित्राइसकेका किसान पनि तिहारलाई पर्खिरहेझै आँगनको डिलमा झुलिरहेका मखमली र सयपत्रीले पनि तिहार पर्खिरहेका छन् ।
फूलहरूको पर्व तिहार आउँन अब केही दिन मात्रै बाँकी रहँदा प्राय नेपालीहरुका घर कौसी र आँगनका डिल सयपत्री र मखमलीले सजिएका छन् । मानौ, यी फूलहरु तिहारकै लागि फुलेका हुन । टिपेर राख्दा धेरै दिन सम्म पनि नओइलीने मखमली र विभिन्न रङमा फुल्ने सयपत्रीले साँच्चै तिहार भित्राइसकेका छन् ।
केटाकेटीहरु दौँतरी समूहमा तिहारको देउसी भट्टाउने सूरमा छन । युवायुवतीहरुले पनि आफ्नै समूह बनाएर देउसीरेको तयारी थालेका छन् । उनीहरुलाई पनि आनन्दित र तिहारमय बनाउन यतिबेला फुलिरहेका छन्, मखमली र सयपत्रीहरु ।
तिहारका बेला भाइटिकाका दिन आफ्ना दिदीबहिनीले दाजुभाईलाई पहिराइदिने मालाका लागि प्रयोग हुने यी फुलहरुले तिहारलाई मात्रै भित्राएका छैनन, बरु तिहारसँगै यतिबेलाको शरदको पवनलाई पनि पुष्पवासना छरिरहेका छन् । अरुबेला फर्किने गुलाफ, लालुपाते यतिबेला सयपत्री र मखमलीका अगाडी फिक्का बनिरहेका छन् ।

अझ भनौ दशैँ सकिएर घरआँगनमा बोटैले धान्न नसक्नेगरी फुलेका सयपत्रीले तिहारलाई बोलाइरहेका छन् । तिहारलाई पर्खिरहेका छन् । तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र आफ्ना दाजुभाईलाई पूजा गर्न होस्, सबैका लागि प्रीय मानिने सयपत्रीले यतिबेला घरको सुन्दरता बढाएका छन् अनि गाउँमा रौनकता थपिदिएका छन् ।

‘यस वर्ष ढिलो तिहार भएकोले पनि बगैँचामा फूल पूरै फक्रिसकेका छन् । नओइलाउने मखमली कतिपयका बारीबाटै बिक्री शुरू भएको छ । व्यवसायिक फूल खेतिले यसको महत्व नै बढाएको छ ।

घरघरमा तिहारको परिकारका लागि बनाइने सेलरोटी र अनरसाको बासना, त्यसैमाथि घरआँगनका डिलमा फुलिरहेका सयपत्रीको मनोरमताले गाउँ नै सुगन्धित र सुन्दर बनेका छन् । सन्ध्यामा बालिने दियो, झिरझिरे बत्ती र रङ्गिचङ्गी बिजुली बत्तीको उज्यालो अनि घरको मूलद्धार अघि पट्टी बनाइने रङ्गौलीको सादृश्यतासँगै तिहारलाई पर्खिरहेका छन् ः सयपत्री र मखमली । (फोटोकथा)





खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया