

क्षयरोग मुक्त नेपाल अभियानका लागि बाणगंगामा वडा स्तरमा सुक्ष्म योजना निर्माण





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियानका लागि वडा स्तरमा सुक्ष्म योजना निर्माण कार्यक्रम संचालन गरिएको छ । मंगलबार वडा नम्बर ८ को मोतिपुर स्वास्थ्य चौकीमा आयोजना गरिएको सरोकारवालाहरुसँग अन्र्तक्रिय तथा योजना निर्माण गरिएको हो ।
बाणगंगा नगरपालिकाको आयोजनामा संचालित उक्त अभियान नगरका क्षयरोग प्रभावित वडाहरुमा धमाधम संचालन भईरहेको नगर स्वास्थ्य शाखाका क्षयरोग संयोजक विष्णु आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउन महिना देखि हाल सम्मको अवधिमा नगरपालिका भित्र ५६ जना संक्रमित बिरामीको पुष्टी भएको पनि आचार्यले जानकारी दिनुभयो । सामुदायमा क्षयरोगको पहिचान र स्कृनिङ् र उपचारका लागि नगरका सबै वडामा स्वास्थ्यकर्मीहरु परिचालन भएका बताइएको छ ।
नेपाल सरकारले क्षय रोग निवारणका लागि निशुल्क परिक्षण सुविधा दिएको छ भने रोगीहरुलाई निशुल्क औषधि समेत उपलब्ध गराउँदै आएको छ । तर यो सुविधा लिन रोगी व्यक्तिहरु नै पछि हट्ने प्रवूत्तिका कारण रोग निवारमा थप चुनौति बढेको छ ।
कार्यक्रममा वडा नम्बर ८ का वडा सदस्य शैलेन्द्र बेल्वासेले रोगको बारेमा पहिला जनचेतना जगाउन जरुरी रहेको भन्दै स्वास्थ्यकर्मीहरुको अभियानमा जनप्रतिनिधिहरुले पूर्ण साथ दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले वडाका तर्फबाट फिल्डमै खटिएर यो अभियानलाई सफल पार्न सहयोग गर्ने जनाउनुभयो ।
यस्तै मोतिपुर स्वास्थ्य चौकीका प्रमूख हिमलाल घिमिरेले वडा नम्बर ८ मा खासगरी वाणिगाउँ, सिसहनिया र मधुवन क्षेत्रमा क्षयरोगीहरु बढि पहिचान भएका कारण यी क्षेत्रमा उपचारलाई थप प्रभावकारी बनाउन प्रयास भइरहेको बताउनुभयो । उहाँले नागरिकहरु आफै उपचारबाट भाग्ने, रोग लुकाउने र रोग देखाउन नचाहने प्रवृत्तिका कारण उपचारमा समस्या भइरहेको बताउनुभयो । जुन क्षेत्रमा शिक्षाको कमी छ, ति क्षेत्रका नागरिकहरु नै क्षयरोगको संक्रमित बढी फेला पर्ने गरेका कारण सुक्ष्म योजना निर्माणमा जोड दिइएको उहाँले जानकारी दिनुभयो । यो रोगलागेका एक जना संक्रमितले २० जना निरोगी व्यक्तिलाई संक्रमण सार्न सक्ने भएकाले उपचारमा आउन उहाँले आग्रह पनि गर्नुभयो ।
कपिलवस्तु जिल्लामा सबैभन्दा बढी बाणगंगा नगरपालिका प्रभावित मानिएको छ । जसका कारण यो अभियान हाल बाणगंगा नगरपालिकामा मात्रै संचालनमा रहेको छ ।
सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि चालु आर्थिक वर्षमा १ अर्ब १५ करोड विनियोजन गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकले त्यस रणनीतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै नेपाल सरकारले समेत त्यसमा थप प्रतिबद्धता जनाएको छ ।
अहिले समुदायमा क्षयरोग लागेका मानिसहरु आफ्नो रोग लुकाउने र निरोगी व्यक्तिमा पनि संक्रमण फैलाउने समस्या बढ्दै गएका कारण अभियान सफलतामा थप चुनौती बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । क्षयरोगीहरुको पहिचानका लागि स्वास्थ्य चौकीमार्फत स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयसेविकाहरु समुदायमा परिचालित भएका भए पनि रोेगीहरु नै स्वास्थ्यकर्मीबाट भाग्ने गरेका छन् ।
कार्यक्रममा बाणगंगा माविका प्रधानाध्यापक कुलराज पौडेलले नगरपालिका र वडाले अब यहाँका सबै सरकारी तथा निजी क्लिनिकहरुमा पनि यसबारे जानकारी गराई अनिवार्य क्षयरोग परिक्षण गर्नुपर्ने सुझाव दिनुभयो । यस्तै उहाँले विद्यालयमा विद्यार्थीहरुसँग अभिमुखिकरण गर्नूपर्ने र विद्यालय मै स्वास्थ्य जाँच शिविर पनि संचालन गर्न सके रोगीको पहिचान हुने बताउनुभयो ।
यस्तै कार्यक्रममा सहभागि विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुले समेत टोल र वडामा अनिवार्य खकार जाँच गर्ने शिविर चलाउनुपर्ने सुझाव दिएका छन् ।कार्यक्रममा वडा सदस्य जुना थारुको अध्यक्षतासहित मोतिपुर स्वास्थ्य चाकी प्रमूख हिमलाल घिमिरको सहजिकरण रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरु ३० जनाको सहभागिता रहेको थियो ।
के हो क्षयरोग ?
क्षयरोग अर्थात टिबी रोग । धेरैलाई थाहा छ, यो एक सरुवा रोग हो । क्षयरोग कसरी लाग्छ, यसका लक्षण केकस्ता हुन्छन् भन्ने विषयमा भने धेरैलाई जानकारी नहुन सक्छ ।
दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो । क्षयरोगका यसबाहेक पनि अन्य धेरै लक्षण छन् । यी लक्षण हेरेर क्षयरोग लागे÷नलागेको थाहा पाउन सकिन्छ ।
सामान्यतया क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ ।
क्षयरोगको लक्षण
–क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ ।
–रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । यो क्षयरोगको संकेत पनि हुनसक्छ ।
–क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ ।
–क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
–क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया