

कपिलवस्तुमा ९२ हजार बढीले गराए स्वास्थ्य बिमा





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तु जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम प्रति नागरिकको चासो सँगै सभागिता समेत बढेको पाइएको छ । २०७४ साल चैत्र २६ गतेबाट जिल्लामा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम सुरुको तीन वर्ष जम्मा ६ प्रतिशत जनताको पहुँचमा मात्रै पुगेको थियो । तर अहिले बिमा कार्यक्रम लागु भएको ६ वर्षमा स्वास्थ्य बिमा गराउने नागरिकको संख्या झण्डै एक लाखको नजिक पुगेको देखिएको छ ।
सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७६/०७७ सम्ममा ३ हजार ४ सय ९६ घरपरिवारको आवद्धता रहेको थियो । अहिले भने कपिलवस्तुमा स्वास्थ्य बिमा गराउनेको संख्या ९२ हजार ६ सय २० पुगेको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा मात्रै ४५ हजार १ सय ९१ व्यक्ति बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
यो आर्थिक वर्षमा कपिलवस्तुमा १२ हजार २ सय ५२ घरपरिवार कार्यक्रममा आबद्ध भएका स्वास्थ्य बिमा बोर्ड कपिलवस्तुका जिल्ला संयोजक बशिष्ठ तिवारीले साझाकुरालाई जानकारी दिनुभएको छ । जिल्लामा चालु आर्थिक वर्षको जेठ महिना सम्ममा १ सय ६७ घरपरिवार अति अशक्त रहेको समेत जनाइएको छ ।
बिमा कार्यक्रम लागु भएको वर्ष २०७४ साल देखि अहिले सम्म कपिलवस्तुमा ५७ हजार ३ सय ८१ घरपरिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भइसकेका छन् । त्यस मध्ये यो आर्थिक वर्षमा मात्रै कुल १२ हजार २ सय ५२ परिवारले बिमा गराएका संयोजक तिवारीले साझाकुरासँग बताउनुभयो । बिमा कार्यक्रम लागु भएको सुरुका तीन आर्थिक वर्षमा जिल्लामा ३६ हजार पाँचसय १३ जना स्वास्थ्य बीमा कार्यक्रममा सदस्य आवद्ध रहेका थिए । “स्वास्थ्य बीमा गराउनेको संख्या उत्साहजनक देखिएको छ’, जिल्ला संयोजक तिवारीले भने, ’घरघरमा गएर बीमा गराइँएको छ ।’
कपिलवस्तुमा बाणगंगा नगरपालिकामा सबैभन्दा बढीले बीमा गराएका छन्। स्वास्थ्य बिमाको सेवा हाल कपिलवस्तुका तीन वटा अस्पताल र प्राथामिक स्वास्थ्य सेवा केन्द्र दुईवटा कायम गरिएको छ । कपिलवस्तुमा स्वास्थ्य बिमाको उपचार सेवा लिनका लागि जिल्ला अस्पताल तौलिहवासहित बाणगंगाको पिपरा स्वास्थ्य चौकी, बहादुरगंज अस्पताल, महाराजगंज स्वास्थ्य केन्द्र र मायादेवीको हर्नामपुर प्राथामिक स्वास्थ्य चौकीलाई तोकिएको छ । जिल्लामा ९७ दर्ता सहयोगी परिचालित रहेको समेत जिल्ला संयोजक तिवारीले साझाकुरालाई जानकारी दिनुभयो । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत् स्वास्थ्य बीमा कार्यक्रममा नागरिकहरु आबद्ध हुन सकिन्छ।
बिमा प्रति नागरिकको आर्षण
कपिलवस्तुमा सुरुका केही वर्ष स्वास्थ्य बिमा कार्यक्रम अभियान केही निराशाजनक देखिएको भए पनि चालु आर्थिक वर्ष २०७/०८० मा भने यसको प्रभाव राम्रो देखिएको छ । यो एक आर्थिक वर्षमा यहाँ १२ हजार २ सय ५२ घरपरिवारका ४५ हजार १ सय ९१ व्यक्ति बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
यस्तै यो एक आर्थिक वर्षका लागि ८ हजार ३ सय ५२ जना सदस्यले आफ्नो पोलिसी नविकरण समेत गराएको तथ्याङ्क छ । बिमा कार्यक्रममा अबद्ध हने संख्या पनि थपिएको र नविकरणमा समेत नागरिकहरु जोडिरहेका कारण पनि कपिलवस्तुमा स्वास्थ्य बिमा कार्यक्रमको प्रभाव सकारात्मक देखिएको तिवारीको भनाई छ ।
अस्पताल भने रिफर सेन्टरमा सिमित
स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिएका यहाँका अधिकाशं अस्पताल तथा स्वास्थ्य केन्द्रहरु पछिल्ला वर्षमा बिरामीको रिफर सेन्टरको रुपमा मात्रै सिमिति भएका पाइएको छ । बिरामीलाई स्वास्थ्य सेवाको गुणस्तरीयताको विश्वास दिलाउन नसक्दा यहाँका केही अस्पतालमा बिमितहरु उपचार गराउँदैनन् । बरु उनीहरु ति अस्पतालबाट अन्यत्रै चेकजाँचका लागि जाने गरी रिफर कागज बनाउन मात्रै पुग्ने गर्दछन् । त्यसको एउटा उदाहरण बाणगंगाको पिपरा अस्पताल हो । यो अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु छ तर बिरामीको उक्त अस्पतालमा उपचार कम, रिफर बढी हुने गर्दछ । यहाँका बिमितहरु रुपन्देहीका विभन्नि अस्पतालमा उपचारका लागि रिफर लिएर जाने गरेका छन् ।
यस्तै सेवाप्रदायकको लापरवाहीका कारण सदरमुकाम क्षेत्रका स्वास्थ्य बीमाका सेवाग्राही सेवा नपाई फर्किन बाध्य पनि हुने गरेका छन् । नेपाल सरकारले विभिन्न जिल्लामा शुरु गरेको स्वास्थ्य बीमाको कार्यक्रम सफल र प्रभावकारी हुँदै गर्दा जिल्लाको तौलिहवा अस्पतालमा भने सो सेवा अव्यवस्थित हुने गरेको बिमितहरुको गुनासो आउने गरेको छ ।
बीमा गरेपछि के सेवा सुविधा पाइन्छ ?
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका लगाउने, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन्।
त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सकिन्छ। तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया