एसीसी प्रिमियर कप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाण्डौ । नेपाल एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । साउदी अरेबियासँगको खेल वर्षाका कारण टस पनि नभई रद्द भएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो ।

आज सोमवार मुलपानी क्रिकेट मैदानमा वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । नेपालले मुलपानी क्रिकेट आज पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको थियो ।

खेल रद्द भएसँगै नेपाल तीन खेलमा पाँच अङ्कसहित समूह ’ए’ को शीर्ष स्थानमा छ । ओमान उति नै खेलमा चार अङ्कसहित दोस्रो र साउदी अरेबिया उति नै खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ ।

अब नेपालले अन्तिम खेलमा आउँदो वैशाख १४ गते कीर्तिपुरको त्रिवि मैदानमा कतारसँग खेल्नेछ । यो खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । यही समूहको अन्तिम खेलमा ओमान र साउदी अरेबिया खेल्नेछन् । यो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टोली बन्नेछ ।

यस्तै वर्षाका कारण त्रिवि क्रिकेट मैदानमा हङकङ र बहराइनबीचको खेल पनि हुन सकेको छैन ।

एसीसी प्रिमियर कपको समूह ’ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया

खबर सबै