

बाँकेका दुई पालिकामा स्थानीय पाठ्यक्रम लागू


बाँके । बाँकेका दुई स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागू भएको छ । राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा स्थानीय पाठ्यक्रम चालू शैक्षिक सत्रबाट लागू भएको हो ।
राप्तीसोनारीमा चालु शैक्षिक सत्रको सुरुआतदेखि नै स्थानीय पाठ्यक्रम लागू भएको शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए । यसैगरी कोहलपुर नगरपालिकामा यस वर्षको साउनदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयन सुरु भएको शिक्षा शाखाले जनाएको छ ।
केही संस्थागत विद्यालयमा शैक्षिक सत्र सुरु भइसकेपछि मात्रै पाठ्यक्रम लागू भएकाले कार्यान्वयन नभए पनि सामुदायिक विद्यालयमा सबैमा कार्यान्वयनमा रहेको छ । नेपालगन्ज उपमहानगरपालिकामा पनि स्थानीय पाठ्यक्रम निर्माण भई कार्यान्वयन सुरु हुन लागेको छ । पाठ्यक्रम छापिएर आइसकेको र यही शैक्षिकसत्रबाट पाठ्यक्रम सुरु गर्ने तयारी भइरहेको शिक्षा शाखाका अधिकृत लोकेन्द्र शाहले बताए । जिल्लाका खजुरा र नरैनापुर गाउँपालिकामा स्थानीय पाठ्यक्रम तयार भएर छाप्न मात्रै बाँकी रहेको छ भने जानकी गाउँपालिकामा पाठ्यक्रम बनेर कार्यपालिकाबाट पारित हुन बाँकी रहेको छ । बैजनाथ गाउँपालिकामा पाठ्यक्रम निर्माण कार्यदल गठन गरिएको छ ।
डुडुवा गाउँपालिकामा पनि पाठ्यक्रम निर्माण भएको तर कार्यान्वयनमा नगएको शिक्षा शाखाका प्रमुख सञ्जयकुमार कर्णले बताए । उनले भने, “गाउँपालिकाको गाउँसभा भर्खरै बसेको छ, बजेट पारित भएकाले अब सो पाठ्यक्रमलाई कार्यान्वयनमा लैजान काम अघि बढ्छ ।”
स्थानीय पाठ्यक्रममा विद्यालय, समुदायभित्र रहेका चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोतसाधन, भूगोल, भाषा, वेषभूषा, पेशालगायतसँग सम्बन्धित विषयवस्तु समेटिएका छन् । कक्षा ८ सम्म लागू हुनेगरी स्थानीय तहले पाठ्यक्रम स्थानीय बनाउन पाउँछन् । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (कक्षा १–३) तथा प्राथमिक शिक्षा पाठ्यक्रम २०६५ (कक्षा ४–५) ले प्राथमिक तहमा सय पूर्णाङ्कको स्थानीय विषय÷मातृभाषा र सामाजिक अध्ययन, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषयमा २० प्रतिशत पाठ्यांश स्थानीयस्तरबाट निर्माणगरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।
आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले कक्षा ६–८ मा मातृभाषा÷स्थानीय विषय÷संस्कृत वा अन्य विषय सय पूर्णाङ्कको स्थानीयस्तरबाट निर्माण गरी पठनपाठन गर्नुपर्ने व्यवस्था रहेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारूपले स्थानीय आधुनिक पेशा, व्यवसाय र प्रविधि एवं श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने सक्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ । रासस ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया