राज्यमन्त्री वली प्रकरण : कारबाहीको माग गर्दै तुलसीपुरमा प्रदर्शन, तत्काल बर्खास्त गर्न एमालेको माग

ई साझाकुरा, बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा स्थानीय महिलाहरूले प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा जम्मा भएर पीडित परिवारले नाराबाजी गरेका हुन ।

मन्त्री वलीले आज बिहान तुलसीपुर उपमहानगरपालिका ५ की मिना बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेको आरोप लागेको छ । घरभित्रै पुगेर महिला र बालिकामाथि कुटपिट गरेको भन्दै मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै स्थानीय महिलाले प्रदर्शन गरेपछि थप अनुसन्धानका लागि मन्त्री लाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको छ । उनलाई एसपीकै निर्देशनमा क्वाटरमा राखिएको छ । स्थानीयले नाराबाजी गरेपछि राज्यमन्त्री वलीलाई घोराहीतर्फ ल्याई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनले घटनाको अनुसन्धान भइरहेकाले थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताए । एसपी काफ्लेले मन्त्री विरुद्ध कुन मुद्दा दर्ता गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । पीडित महिलाले जाहेरी दर्ताका लागि इप्रका तुलसीपुर पुगेकी छिन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेको विषयमा अध्ययन गर्ने बताएका छन् । उनले मन्त्री वली पक्राउ परेको विषयमा अनौपचारिक सुने पनि आधिकारिक जानकारी अहिलेसम्म सरकारलाई नआएको प्रतिक्रिया दिएका छन् । उनले भने हामीलाई अहिलेसम्म आधिकारिक ‘इन्फर्मेसन’ आएको छैन । जिम्मेवार व्यक्तिले त्यस्तो कुटपिट गर्ने काम गर्नुभएको रहेछ भने, त्यसको गम्भीर अध्ययन गरेर अगाडि बढ्ने बताए ।

वलीलाई तत्काल बर्खास्त गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।
वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन् ।

वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर निहुराएको भन्दै लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

‘विगतमा पनि उहाँसंग जोडिएर पदीय मर्यादा बाहिरका विषयहरु आएका थिए, तर अहिलेको हर्कत आपत्तिजनक र निन्दनीय छ’–ढकालले भने, ‘आफूजस्तै अर्की महिलामाथि हातपातमा उत्रिनु लज्जाजनक हो, यसले सबै सांसद र प्रदेशबासीको शीर निहुराएको छ ।’ नेता ढकालले राज्यमन्त्री वलीलाई बर्खास्त नगरे प्रदेश सरकारको नालायकी पुष्टि हुने बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आफूले घटनाबारे समाचारमार्फत थाहा पाएको र थप बुझेर मात्रै प्रतिक्रिया दिने बताए ।

एकराजको घरमा उनकी श्रीमती र छोरीलाई हातपात गरेको खबर पाएपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा राखेको छ ।

प्रतिक्रिया

खबर सबै