एउटै मात्र टी–२० लिग आयाेजना गर्ने क्यानकाे घाेषणापछि फ्रेन्चाइज टिमहरू असन्तुष्ट

काठमाण्डाै

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एउटै मात्र टी–२० लिग आयोजना गर्ने घोषणा गरेसँगै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) का टिम मालिकहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

एउटै फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग आयोजना गर्ने क्यानको निर्णयले यसअघि फ्रेन्चाइज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका हुन् । उनीहरूले फ्रेन्चाइज क्रिकेटमा ठूलो लगानी गरिसकेको बताउँदै प्रतियोगिताको निरन्तरताको माग गरेका हुन् । क्यानको निर्णयसँगै मिति घोषणा भइसकेको पाँचौँ संस्करणको ईपीएलले मान्यता नपाउने देखिएको थियो ।

यसै सन्दर्भमा आज सोमवार पत्रकार सम्मेलन गर्दै उनीहरूले नेपाल टी–२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिए ईपीएल र यसका ६ फ्रेन्चाइज टिमले क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिष्कार गर्ने चेतावनीसमेत दिए । क्यानले गरेको निर्णय सही नभएको ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जनले बताउनुभयो । उहाँले क्यान निलम्बित हुँदासमेत ईपीएलले नेपाली क्रिकेटमा सहयोग गरेको भन्दै क्यानको यो निर्णयबाट सम्बन्धित सबै निकाय निराश भएको बताउनुभयो ।

क्यानको पछिल्लो कदमबाट यसअघि हुँदै आएको फ्रेन्चाइज क्रिकेट ईपीएलको भविष्य सङ्कटमा देखिएको छ । कर्पोरेट क्षेत्रले लगानी गरेको करोडौँ रुपैयाँ लगानीसमेत जोखिममा परेको छ । ईपीएलका धेरैजसो टिम मालिकको जमघट भएको पत्रकार सम्मेलनमा कर्पोरेट क्षेत्रको लगानीमा धक्का लाग्ने बताइएकाे हाे । उनीहरूसँग सहमत हुँदै ईपीएलका सञ्चालक आमिर अख्तरले आफूहरूलाई पनि काम गर्ने ठाउँ चाहिएको धारणा राख्नुभयो ।

अख्तरले छलफलबाटै अहिले देखिएको समस्या समाधान हुनेमा आफूहरू आशावादी रहेको बताउनुभयो । उहाँले सञ्चालकहरू पीडा र अन्यायमा परेको बताउँदै ईपीएलसँग जोडिएको कम्पनीले क्यानको लिगमा प्रायोजन नगर्ने चेतावनीसमेत दिनुभयो ।

प्रतिक्रिया

खबर सबै