


प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा, साढे ४ बजे भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गर्ने



काठमाण्डाै
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत पुग्नुभएको छ । चार मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि नयाँ दिल्ली पुग्नुभएको हो ।
देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गर्नुभयो । प्रधानमन्त्री देउवासहितको भ्रमण टोली नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को विमानमार्फत भारत गएको हो । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि हुनुहुन्छ । प्रधानमन्त्री देउवाको बिदाइका लागि विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीहरू पुगेका थिए ।
प्रधानमन्त्री देउवासँग अहिले साढे ४ बजे भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालय पुग्नुहुने छ । भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीमा रहेको नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनुहुनेछ ।
भोलि शनिवार बिहान १० बजेर ४० मिनेटमा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । त्यहाँ संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम छ । प्रधामन्त्री देउवाले दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
भ्रमणको तेस्रो दिन आइतवार प्रधानमन्त्रीसहितको टोली बिहानै बनारस जानेछ । देउवा नेतृत्वको टोली आइतवार दिउँसो नेपाल फर्कने कार्यक्रम छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया