पर्यटनमन्त्री आलेको नजर गुहेश्वरी क्षेत्रमा, अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिए ।

आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, वनकाली, गुहेश्वरीलगायतका क्षेत्रमा पुगेका थिए ।

सो क्रममा उनले पशुपति क्षेत्र भित्र निकै विकृति देखिएको बताए । पशुपति बिकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अब यसलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।

उनले पशुपतिमा फूल, रुद्राक्ष विक्रीका लागि छुट्टै स्थान बनाएपनि धर्मालम्बीलाई अप्ठेरो हुनेगरि सडकमा नै फूलमाला विक्री गरिएको पाइएकोले यसलाई पनि व्यवस्थित गरिने बताए ।

उनले पशुपति क्षेत्रमा निःशूल्क गाई पालनका लागि स्थान दिइएको प्रतिपनि आपत्ति जनाए ।

प्रतिक्रिया

खबर सबै