

निस्सासिएर एकै परिवारका चारको मृत्यु



बाँके ।
नेपालगञ्जमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने तीन जना बेहोस भएका छन् । भेरी अस्पतालसँगै जोडिएको कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखामा कार्यालय सहयोगीका रूपमा कार्यरत धनप्रसाद भट्टराईको चार जना परिवारको निस्सासिएर मृत्यु भएको हो । धनप्रसाद परिवारसँगै मेडिकल स्टोरकै क्वाटरमा बस्थे ।
धनप्रसादका सात जना परिवार एउटै कोठामा सुतेका थिए । तातोका लागि धनप्रसादले ढोका छेउमै टिनको बट्टामा कोइला बालेका थिए । झ्याल र ढोका बन्द गरेर टिनको बट्टामा कोइला बालेर सुतेका भट्टराई परिवारका चार सदस्यको मृत्यु भएको छ भने तीन जनालाई बेहोस अवस्थामा बिहीबार बिहान अस्पताल पुर्याइएको छ ।
मृत्यु हुनेमा कालिकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, तीन महिनाको छोरा इप्सन, ४५ वर्षीया आमा कोपिला भट्टराई र २७ वर्षीया दिदी नन्दकली भट्टराई रहेका छन् । २४ वर्षीया श्रीमती सुशीला भट्टराई, तीन वर्षीय छोरा दिवस र १८ वर्षीय भाइ नरेन्द्र भट्टराईलाई बेहोस अवस्थामा भेरी अस्पतालमा पुर्याइएको छ । तीनै जनाको भेरीमै उपचार भइरहेको छ । छोरा दिवस र भाइ नरेन्द्रको अवस्था गम्भीर रहेको छ । श्रीमती सुशीला बोल्न सक्ने अवस्थामा छन् ।
घटनाका बारेमा बिहान साढे ७ बजे प्रहरीलाई खबर गरिएलगत्तै प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, एसपी श्यामकृष्ण अधिकारीको टोली पुगेको थियो । जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दा शाखाका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर घर्तीले आफूहरू जाँदासम्म कोठामा खार आइरहेको बताउनुभयो । ‘ढोकाको छेउमै टिनको बट्टामा कोइला भरेर सुतेका रहेछन् । त्यसकै खारले निस्सासिएर मृत्यु भएको देखिन्छ’, मुद्दा शाखाका प्रमुख घर्तीले भन्नुभयो– ‘हामी गएको धेरै पछिसम्म खार आइरहेको थियो । कोठामा बस्न सक्ने अवस्था थिएन ।’
भट्टराईको कोठामा दुई वटा पलङ थियो । त्यसमा नअटेर भुईंमा म्याट ओछ्याएर सुतेका थिए । तीनमहिने बच्चालाई जाडो होला भनेर भट्टराईले कोइला बालेका थिए । शुरूमा कोठाभन्दा बाहिर आगो बालेका भट्टराईले त्यसबाट कोइला बनाएर टिनको बट्टामा भरेका थिए । कोइला भरिएको टिनको बट्टालाई कोठाभित्र ढोका छेउमा राखिएको थियो । श्रीमती सुत्केरी भएको तीन महिना भएको र बच्चासमेत सानो रहेकाले तातोका लागि भट्टराईले आगोको व्यवस्था गरेका थिए ।
एउटै कोठामा एकै परिवारका सात जना अचेत अवस्थामा फेला परेपछि प्रहरीले शंका मानेर तालिम प्राप्त कुकुरलाई लिएर गएको थियो । शुरूमा कर्तव्य ज्यान हुन सक्ने आँकलन गरिए पनि त्यस्तो कुनै लक्षण देखिएको थिएन । प्रहरी जाँदासम्म कोठामा खार आइरहेकाले निस्सासिएर नै भट्टराई परिवारको मृत्यु भएको सबैको बुझाइ थियो । राति नै काम परेर भट्टराईलाई फोन गर्दा नउठेको कर्मचारीसम्बद्धले बताएका छन् ।
प्रहरीले भट्टराईका आफन्तलाई बोलाएको छ । आफन्तीहरू नेपालगञ्ज आउँदै छन् । चार जना मृतकको शव भेरीको शवगृहमा राखिएको छ । तीन जनाको उपचार भइरहेको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया