दिल्लीमाथि बैंगलोरको रोमाञ्चक जित

काठमाडौं । श्रीकार भरत र ग्लेन म्याक्सवेलको आक्रमक ब्याटिङमा रोयल च्यालेन्जर्स बैंगलोरले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्समााथि सात विकेटको रोमाञ्चक विजय हासिल गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रन बनाएको थियो । १६५ रनको लक्ष्य बैंगलोरले अन्तिम बलमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।

जितका बाबजुद बैंगलोर तेस्रो स्थानमा यथावत रह्यो । आज बैंगलोरले राम्रो अन्तरमा विजय हासिल गरेको भए दोस्रो स्थानमा उक्लने मौका थियो । तर, संघर्षपूर्ण जितपछि बैंगलोर तेस्रो स्थानमा यथावत रह्यो ।

बैंगलोर र दोस्रो स्थानमा रहेको चेन्नईको समान १८ अंक छ । अंक बराबर भएपनि बैंगलोर खराब रनरेटका कारण पछि परेको हो । बैंगलोरले दोस्रो क्वालिफायरमा पुग्नका लागि कोलकाता नाइट राइडर्सविरुद्ध खेल्नेछ । शीर्ष स्थानमा रहेको दिल्लीले फाइनल प्रवेशका लागि चन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

१६५ रनको लक्ष्य पछ्याएको बैंगलोरले सुरुमै दुई विकेट गुमाएको थियो । कप्तान विराट कोहली ४ तथा देबदत्त पाडिकल शुन्यमा पवेलियन फर्किदा बैंगलोर ६÷२ को स्थितिमा थियो । त्यसपछि भरत र एबी डी भिलियर्सले तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे ।

डी भिलियर्स ९.३ ओभरमा २६ रन बनाएर पवेलियन फर्किदा बैंगलोर ५५–२ को स्थितिमा थियो । त्यसपछि भरत र म्याक्सवेलेल चौथो विकेटका लागि १११ रनको अविजित साझेदारी गर्दै बैंगलोरलाई सात विकेटको रोमाञ्चक जित दिलाए ।

म्याक्सवेलले ३३ बलमा आठ चौकासहित अविजित ५१ रन बनाउँदा भारतले ५२ बलमा तीन चौका र चार छक्कासहित ७८ रन बनाए । दिल्लीका एनरिच नोट्जेले दुई र अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि दिल्ली क्यापिटल्सका लागि ओपन पृथ्वी शाले ४८ र शिखर धवनले ४३ रन बनाए । दुईले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । त्यसबाहेक शिमरोन हेटमेयरले २९, श्रेयस ऐयरले १८ र रिशब पन्तले १० रन बनाए । रिपाल पटेल सात रनमा अविजित रहे ।

बैंगलोरका मोहम्मद सिराजले दुई विकेट लिँदा युजभेन्द्र चाहल, हर्शल पटेल र दन क्रिष्टेनले एक–एक विकेट लिए ।

प्रतिक्रिया

खबर सबै