इपिएल क्रिकेट : पोखरा फाइनल प्रवेश, उपाधि भिडन्त चितवनसँग

काठ्माण्डौँ । पोखरा राइनोज चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा पुगेको छ । आज दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियर्ससलाई ७ विकेटले हराउँदै पोखरा फाइनलमा पुगेको हो ।

भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८।२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

पोखराको जितमा साहन अर्चिङ्गेले अविजित ५३ र विपिन रावलले नटआउट ४० रनको योगदान दिए । प्रमुख ब्याट्सम्यान रिचर्ड लेभी १४ रनमा आउट हुँदा ऋत गौतम ६ र लोकेश बम भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा स्पिनर भुवन कार्कीले उत्कृष्ट रन आउट गराउँदै भैरहवालाई महत्वपूर्ण सफलता दिलाए । ननस्ट्राइकका लेभी रन लिने क्रममा केही अघि बढेको समयमा भुवनले उत्कृष्ट रन आउट गराएका थिए । भुवनले भैरहवाको २ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनायो ।

उसका लागि कप्तान शरद भेषवाकरले ३३ बलमा सर्वाधिक अविजित ३२ रन बनाए । आरिफ शेखले २४ बलमा एक छक्का र एक चौकाको सहयोगमा २७ रनको योगदान दिए ।

त्यस्तै, रोहितकुमार पौडेलले १६, उपुल थरंगाले ११ र प्रदीप ऐरीले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा साहन अरजिङ्गे र किशोर महतोले सर्वाधिक २र२ विकेट लिए । उपाधिका लागि पोखराले अब चितवन टाइगर्सको सामना गर्नेछ । यी दुई टोलीबीचको फाइनल म्याच शनिबार हुनेछ ।

प्रतिक्रिया

खबर सबै