

बुटवलमा एमालेको भेला : नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको ओलीको दावी



बुटवल ।
आफ्नो आधार इलाका मान्दै आएको रुपन्देहीको बुटवलमा नेकपा (एमाले) ले बुधवार पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका प्रभावशाली नेताको सहभागितामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
पार्टी विभाजनपछि पहिलोपटक बुटवलमा आयोजना गरिएको यो भेलालाई चासोका साथ हेरिएको थियो । देशका धेरै जिल्लामा बुधवार भएका कार्यकर्ता भेलामध्ये ओलीले रुपन्देहीलाई महत्त्व दिएर बुटवल आएका थिए ।
अध्यक्ष ओलीसहित पार्टी उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको समेत सहभागिता भएको भेलामा नेकपा एमाले कमजोर नरहेको छनक नेताहरुको भाषणमा थियो । पौडेल र भुसालको गृहजिल्ला रुपन्देही नै हो । भेलाका सहभागी कार्यकर्ता उत्साहित भएर कार्यक्रममा सहभागी भएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको बताउनुभएको छ । माओवादी केन्द्रका मुख्य नेताहरू एमाले मै रहेको भन्दै उहाँले माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आरोप लगाउनुभयो ।
नेकपा एमाले रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज सेवा केन्द्र बनाएर एमाले अघि बढ्ने बताउनुभयो । देशभर समाज सेवा केन्द्र बनाएर नागरिकको सेवामा एमाले जाने अध्यक्ष ओलीले बताउनुभयो । ‘कसैसँग सहयोग गर भनेर जाँदैनौ तर हाम्रो काम देखेर कसैले सहयोग गर्दछ भने अस्वीकार गर्दैनौँ,’ उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले विकास विरोधी तत्त्वले आफनो सरकारलाई विस्थापित गरेको बताउनुभयो । उहाँले चुनावपछि एमाले सरकारमा आउने र विकासलाई निरन्तरता दिने बताउनुभयो ।
कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । ‘उनीहरूले गरेनन्, मैले काम गर्छु भन्दा दिएनन्’, ओलीले भन्नुभयो ।
कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले आउँदो चुनावपछि एमाले पुनः सत्तामा जाने बताउनुभयो । उहाँले एमालेबाहेक समृद्धिको खाका कसैले पनि कोर्न नसक्ने बताउनुभयो । माधव नेपालले नेतृत्व गरेको पार्टीले देशभर एक सिट पनि जित्ने हैसियत नराख्ने नेता पौडेलले दाबी गर्नुभयो । पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले ओली सरकारले ल्याएको लोकप्रिय बजेटलाई प्रतिस्थापन गरेर वर्तमान सरकारले जनविरोधी काम गरेको बताउनुभयो ।
अर्का उपमहासचिव घनश्याम भुसालले एमाले भाँडिएको भन्दै समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘गल्ती गर्नेहरू सबैले समीक्षा गरौँ यो कुरा माधव नेपालमा पनि लागू हुन्छ’, उपमहासचिव भुसालले भन्नुभयो । उहाँले एमालेलाई कमजोर बनाउने र उत्ताउलो बन्ने छुट नभएको बताउनुभयो । उपमहासचिव भुसालले पार्टीको आउँदो महाधिवेशनले एमालेलाई साङ्गठनिक रूपमा समेत व्यवस्थित गर्ने बताउनुभयो ।
नेता टोपबहादुर रायमाझीले असफल नेताहरूले एमालेलाई घेराबन्दीमा राख्ने प्रयास गरे पनि त्यसलाई चिर्दै अगाडि बढ्न सक्षम रहेको बताउनुभयो । चुनाव जित्ने हैसियत नभएपछि माधव नेपाल प्रचण्ड–कांग्रेसको शरणमा पुगेको रायमाझीले आरोप लगाउनुभयो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया