अस्ट्रेलियाविरुद्धको खेलपछि प्रशिक्षक अलमुताइरीले गरे नेपाली खेलाडीको प्रशंसा

काठमाडौं

फिफा विश्वकप कतार २०२२ तथा एएफसी एसियन कप २०२३ चीनअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले हार बोहोर्‍यो।

शुक्रबार कुवेत सिटीमा भएको खेलमा नेपाललाई अस्ट्रेलियाले ३-० गोलले पराजित गर्‍यो।

हारका बावजुद नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली खेलाडीको प्रशंसा गरे।

‘हामीले सकेसम्म राम्रो प्रदर्शन गर्‍यौ र काउन्टरमा खेल्ने कोशिस गर्‍यौ। हामीले रक्षात्मक खेलेनौ र उनीहरूले आफ्नो शारीरिक फाइदा लिए,’प्रमुख प्रशिक्षक अलमुताइरीले खेलपछि भने।

उनले अस्ट्रेलियासँग गतिमा खेल्न सकेकोमा खेलाडीको प्रशंसा गरे।
‘१० खेलाडीमा सीमित भए पनि राम्रो खेलेकोमा खेलाडीलाई धन्यावाद दिन्छु,’ उनले भने।

अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपाली खेलाडीको मानसिकताको प्रशंसा गरे।

‘उनीहरू मैदानमा लडिरहे र दौडन छाडेनन्। तर हामी यहाँ जुन कामका लागि आएका छौं त्यो अझै समाप्त भएका छैनौं,’ प्रशिक्षक अर्नोल्डले भने।

खेलको छैटौं मिनेटमा अस्ट्रेलियाले अग्रता लियो। उसका लागि म्याथ्यु लकीले पहिलो गोल गरे।

३८ मिनेटमा अस्ट्रेलियाका काराकिकले दोस्रो गोल गरे।

खेलको ४५ मिनेटमा नेपाल १० खेलाडीमा  सीमित बन्यो। नेपालका रोहित चन्दले सिधा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। उनले अस्ट्रेलियाका मार्टिन बोयललाई लडाएका थिए।

५७ मिनेटमा अस्ट्रेलियाका लागि बोयलले तेस्रो गोल गरे।

दोस्रो हाफभर १० खेलाडीमा खेलेको नेपालका लागि कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले अस्ट्रेलियाका आधा दर्जन प्रहार विफल पारेका थिए।

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि सकिएको छ। अब नेपालले प्लेअफबाट तेस्रो चरणमा लागि पुग्न प्रतिस्पर्धा गर्नु पर्नेछ।

२१ अंक जोडेको शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका ७ वटै खेलमा जित हात पार्‍यो। दोस्रोको स्थानको जोर्डनको १३ अंक छ भने तेस्रो स्थानका कुवेत १० अंक छ।

नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो बन्यो। नेपालले चाइनिज ताइपेईलाई दुवै लेगमा समान २-० गोलले पराजित गर्दा अरु तीन टिमसँग दुवै खेलमा पराजय भोग्यो।

पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका सबै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन।

नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा यहि छनोटको पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो। क्यानबेरामा भएको सो खेलमा अस्ट्रेलियाले नेपाललाई ५-० गोलले पराजित गरेको थियो।

प्रतिक्रिया

खबर सबै