प्रदेशसभा सदस्य थापालाई जनमोर्चाले सोध्यो स्पष्टीकरण

कास्की

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टिकरण सोधेको छ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्न पार्टीले गरेको निर्णयविरुद्ध गएकाले उनलाई स्पष्टिकरण सोधिएको हो ।

पार्टीको निर्देशन नमानेको र संसदीय दलको ह्वीपलाई समेत उल्लंघन गरेको भन्दै थापालाई स्पष्टिकरण सोधिएको जनमोर्चाले जनाएको छ ।
पार्टीको निर्णय स्विकार नगरेकाले स्पष्टिकरण सोधिएको जनमोर्चाका गण्डकीका अध्यक्ष शंकर बरालले  जानकारी दिए । उनले पार्टीभित्र नियम, विधि, विधान उल्लंघन गरेकाले पार्टीले कारवाही प्रक्रिया अगाडी बढाएको बताए ।

गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न पार्टीले निर्देशन दिए पनि थापाले कांग्रेस नेतृत्व स्विकार नगर्ने भन्दै हस्ताक्षर गर्न मानेका छैनन् । गत बैशाख १५ गते अविश्वास प्रस्तावमा मतदान तोकिएका दिन बिनासूचना सांसद खिमविक्रम शाही बेपत्ता भएपछि पोखरा आएका पार्टीका महासचिब मनोज भट्टले मंगलबार हस्ताक्षर गराउनका लागि थापाकोमा पुगेका थिए।

तर, सांसद थापाले हस्ताक्षर नगर्ने बरु पार्टीको कारबाही खेप्न तयार रहेको अभिव्यक्ती दिएका थिए । त्यसपछि उनीमाथि पार्टीले कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

प्रदेशमा जनमोर्चाका ३ सांसद छन् । सांसद पियारी थापा र खिम विक्रम शाहीले हस्ताक्षर गरिसकेका छन् । निर्धारित समयसम्म हस्ताक्षर नगरे थापालाई सांसद पदबाट हटाउने तयारी जनमोर्चाको छ ।

प्रतिक्रिया

खबर सबै