काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

काठमाडौं

काठमाडौंभित्र रहेका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।

मंगलबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितहरुको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिए ।

यस्तै मन्त्रालयले निजी अस्पतालहरुलाई पनि एक तिहाई बेड नन कोभिडको लागि छुट्याएर बाँकी रहेका बेडहरु कोरोनाका बिरामीका लागि उपचार गराउन भनिएको थियो । तर, पनि कतिपय निजी अस्पतालले त्यो भन्दा पनि बढी बेडमा राखेर उपचार गराइरहेको जानकारी दिए ।

यस्तै अक्सिजन अभावको समस्या समाधानका लागि उत्पादन नै बढाउनु आवश्यक रहेको उनको भनाइ छ । ‘संक्रमितको संख्या ह्वात्तै बढेका कारण अक्सिजनको अभाव बढेको हो । अक्सिजन उत्पादन नबढाएसम्म त्यो चुनौती कायम रहने देखिन्छ,’ उनले भने ।

मन्त्रालयका अनुसार काठमाडौंमा भएका उद्योगहरूबाट ८ हजार र अस्पतालहरूबाट २ हजार गरी दश हजार सिलिन्डर उत्पादन हुन्छ । उत्पादन कम भएको र माग धेरै भएका कारण जनता पीडामा छटपटिन बाध्य भएको स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले बताए ।

उनका अनुसार लिक्वीड अक्सिजन उत्पादन बढाउन विभिन्न अस्पतालहरुमा प्लान्ट सञ्चालनमा आएको र भारतसँग पनि छलफल भइरहेको छ । ‘विश्वमा कुनै यस्तो देश छैन । जसले पूरै जनतालाई एकै साथ अस्पताल भर्ना गर्न सकोस् । हामीले संरचना बढाएका पनि थियौं । तर, संख्यात्मक हिसाबले संक्रमित बढेपछि अपुग भएको हो ।’

मन्त्री त्रिपाठीले सञ्चारकर्मीलाई पनि समाचार प्रकाशनअघि भेरिफाई गर्न सुझाव दिएका छन् । द्वन्द्व र महामारीमा सञ्चार माध्यमको भाषाले धेरै प्रभाव पार्ने उनले बताए ।

यसबेला जनतामा मनोबल उच्च बनाउन आवश्यक भएकाले सञ्चारमाध्यमलाई जनताको मनोबल गिराउने काम नगर्न आग्रह गरे । मन्त्रालयले संरचना पर्याप्त भए पनि संक्रमितको संख्या ह्वात्तै बढ्दा समस्या निम्तिभएको बताए ।

प्रतिक्रिया

खबर सबै