भलवाडका सामुदायिक वनको लगानीमा फर्निचर उद्योग बन्दै

राजेन्द्र खनाल

कपिलवस्तुको वाणगंगा नगरपालिका अन्र्तगत एक वडा भित्रका सामुदायिक वनहरुले सामुहिक लगानीमा काष्ठ फर्निचर उद्योग संचालनको तयारी थालेका छन् ।

वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका आठ वटा सामुदायिक वनहरुले सो काष्ठ तथा फर्निचर उद्योग संचालन गर्न थालेका हुन । कुल रु. ५० लाख लागत अनुमान गरिएको सो काष्ठ फर्निचर उद्योगले विशेष गरी भलवाडका सामुदायिक वनबाट उत्पादित काठ भलवाडमै प्रशोधित हुने अपेक्षा गरिएको छ । यद्यपी सो उद्योग निर्माणमा दुईवटा समुदायिक वनले भने सो उद्योग निर्माणमा लगानी नगर्ने जनाएका छन् । खुतखुते सामुदायि वन र कोईलीचौर सामुदायिक वनले लगानी गर्न असहमति प्रकट गरेको उद्योग निर्माण समितिका संयोजक दिपक थापाले बताए ।

भलवाडका सामुदायिक वनहरुबाट वार्षिक झण्डै ५० हजार क्युफिट बढी काठ लिलाम हुने गरेको छ । उत्तरको चुरे क्षेत्र सम्म फैलीएको भलवाडका सामुदायिक वनको करिब २ हजार ५ सय हेक्टर क्षेत्रफलमा हरेक वर्ष काठ उत्पादन हुँदै आएको छ । उत्तरमा अर्घाखाँची जिल्लाको सिमाना देखि सुरु हुने चुरे क्षेत्रमा खुतखुते सामुदायिक वन, अमृते सामुदायिक वन , काईलीचौर सामुदायिक वन र खोजिपुर सामुदायिक वनले सो क्षेत्र ओगटेको छ भने भलवाडको समथर भुभागमा सहरेपानी सामुदायिक वन, कोटिहवा सामुदायिक वन, सहारा सामुदायिक वन, गौतमबुद्ध सामुदायिक वन, नमुना सामुदायिक वन, जन जागरण सामुदायिक वन र कालिका सामुदायिक वनले ओगटेको छ ।

निर्माणको चरणमा रहेको सो काष्ठ फर्निचरका अध्यक्ष रहेका खोजिपुर सामुदायिक वनका अध्यक्ष दिपक थापाका अनुसार भलवाडका जनता र उपभोक्ताहरुको सहजताका लागि फर्निचर उद्योग बनाउन लागिएको हो । महंगोमा काठ चिरान गर्नुपर्ने बाध्यतालाई हटाउँदै काठ चिरानमा सहुलियत र सेवामुलक सेवा प्रदानका लागि फर्निचर उद्योग खोल्न लागिएको थापाले बताए । सो उद्योग आउँदो फाल्गुण महिनाबाट संचालन हुने गरी काम भईरहेको उनले बताए । भलवाडको सेमरा हाटबजार देखि उत्तरमा पर्ने जग्गामा सो काष्ठ तथा फर्निचर उद्योगको निर्माणकार्य अहिले भईरहेको छ फाल्गुण महिना भरमा उद्योग संचालन हुने लक्ष्य लिइएको छ ।

निर्माण समितिका कोषाध्यक्ष तथा सहारा सामुदायिक वनका अध्यक्ष नारायण थापाले भलवाडका सामुदायिक वनहरुको लगानिले बन्ने सो उद्योगले भलवाडका सबै जनता र वन उपभोक्ताहरुलाई सहजता थप्ने बताएका छन् । उनले सामुदायिक वनहरुकै सामुहिक लगानीले बन्ने उद्योगले वन व्यवस्थापनमा पनि थप सहयोगी बन्ने पनि बताए ।

यस अघि पनि भलवाडका सामुदायिक वनहरुले आफ्नो क्षेत्र र उपभोक्ताहरुको मागमा आधारित कार्यक्रम संचालन सँगै सामाजिक विकासका योजनामा समेत बजेट परिचालन गर्दै आएका छन् । सडक कालोपत्रे, गरिबी निवारणका कार्यक्रम, सचेतनामूलक अभियान, विपत्ति तथा भैपरिमा लगानी लगाएतका काम गरिरहेको वनका अध्यक्षहरुले बताए ।

प्रतिक्रिया

खबर सबै