अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा जमिनमा प्रवेश गरेको छ।

मंगलबारसम्म बंगालको खाडीको समुद्री सतहमा रहेको चक्रवात बुधबार बिहानदेखि स्थल प्रवेश प्रक्रिया सुरू भएको हो।

भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवातको स्थल प्रवेश प्रक्रिया बापट्ला र विशाखापट्टनमको बीचमा यानमको दक्षिणतर्फ भइरहेको छ।

बुधबार बिहानदेखि सुरु भएको स्थल प्रवेश प्रक्रियाका क्रममा भारतका विभिन्न ठाउँमा भारी वर्षा र तीव्र हावाहुरी चलेको छ भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

चक्रवातको केन्द्रमा हावाको गति प्रतिघन्टा १२५ देखि १३५ किलोमिटर छ। हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको भनेर एएनआईले लेखेको छ।

चक्रवातको प्रभावले आन्ध्र प्रदेशको काकिनाडामा रूखहरू ढलेका छन् भने विद्युतका तारहरू चुँडिएका छन्। विशाखापट्टनममा सडक अवरुद्ध भएका छन्। तटीय क्षेत्रमा समुद्रको पानी बस्तीमा पस्न सक्ने चेतावनीसमेत जारी गरिएको छ।

भारतमा चक्रवातको प्रभाव देखिइरहँदा नेपालमा पनि यसको बाहिरी क्षेत्रका बादल फैलिन थालेका छन्।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौंसहित देशका विभिन्न भागमा उच्च बादल देखिन थालेका छन्।

प्रतिक्रिया

खबर सबै