बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम

बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिको काम सुरु भएको दुई वर्ष पूरा हुँदा भौतिक प्रगति ३० प्रतिशत मात्र भएको छ । सम्झौता अनुसार २०८४ कात्तिक ३ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि बाँकी ७० प्रतिशत काम एक वर्षभित्र सक्नुपर्ने चुनौती थपिएको छ ।

सडक स्तरोन्नति २०८१ कात्तिक ४ देखि सुरु भएको हो । निर्माणको गति सुस्त हुँदा निर्धारित समयभित्र आयोजना सम्पन्न हुनेमा आशङ्का बढेको छ । निर्माण ढिलाइ हुनुमा गत वर्ष माटोको अभाव, निर्माण सामग्रीको आपूर्तिमा समस्या तथा अहिले चाडपर्वका कारण कामदारको सङ्ख्या घट्नु प्रमुख कारण रहेको आयोजना कार्यालयले जनाएको छ ।

बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालयका प्रमुख कुशलता न्यौपानेले आगामी निर्माणको मौसममा माटो तथा नदीजन्य निर्माण सामग्री अभाव नभए निर्धारित समयमै काम सम्पन्न गर्ने प्रयास गरिने बताउनुभयो ।

आयोजना कार्यालयका अनुसार दसैँतिहारका कारण कामदार बिदामा गएकाले पछिल्लो समय निर्माण प्रभावित भएको छ । गत वर्ष दैनिक करिब आठ सय श्रमिक परिचालन हुने गरेकोमा अहिले दैनिक करिब दुई सय जना मात्रै कार्यरत छन् । कामदारको सङ्ख्या घट्दा निर्माणको गति पनि सुस्त भएको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपियाँमा सडक स्तरोन्नतिको ठेक्का लिएका हुन् । करिब ५० किलोमिटर लामो सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।

बुटवलदेखि सालझन्डीसम्मको २५ किलोमिटर सडक पहिलो खण्डमा र सालझन्डीदेखि कपिलवस्तुको गोरुसिङ्गेसम्मको २५ किलोमिटर सडक दोस्रो खण्डमा पर्छ । पहिलो खण्डको लागत सात अर्ब ८९ करोड रुपियाँ र दोस्रो खण्डको लागत पाँच अर्ब ६६ करोड रुपियाँ रहेको छ ।

गत वर्ष बुटवल तथा कपिलवस्तु खण्डका केही स्थानमा कालोपत्रे गर्ने तयारी गरिएको थियो तर मध्यपूर्वमा भएको द्वन्द्वका कारण बिटुमिन अभाव भएपछि कालोपत्रेको काम अघि बढ्न सकेको छैन । निर्माण सामग्रीको आपूर्ति र कामदारको उपलब्धतामा देखिएका समस्याले आयोजनाको कार्यतालिकामा असर परेको हो । सडक स्तरोन्नति सम्पन्न भएपछि सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र वनक्षेत्रमा २४ मिटर चौडाइको सडक निर्माण हुने छ । सडकलाई आधुनिक र सुरक्षित बनाउने उद्देश्यले फ्लाइओभर, अन्डरपास, आकासे पुल तथा वन्यजन्तु आवतजावतका लागि क्रसिङसमेत निर्माण गरिँदै छ ।

निर्माण सम्पन्न गर्ने समयसीमा नजिकिँदै गर्दा कामको गति बढाउनुपर्ने देखिएको छ । बाँकी एक वर्षमा ७० प्रतिशत काम सम्पन्न गर्नुपर्ने अवस्थाले आयोजना व्यवस्थापन, निर्माण सामग्रीको नियमित आपूर्ति र पर्याप्त श्रमिक परिचालनलाई थप चुनौतीपूर्ण बनाएको छ । 

प्रतिक्रिया

खबर सबै