

कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ



विगतमा दसैँका बेला दुर्गा मूर्ति विसर्जनका क्रममा हिंसात्मक घटनासमेत भएका कपिलवस्तुको कृष्णनगरमा यस वर्षको विसर्जन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यद्यपि, विसर्जनका क्रममा धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका–२ मा दुर्गा मूर्ति विसर्जनका क्रममा सडकका विभिन्न स्थानमा उत्तेजक तथा सद्भाव बिथोल्न सक्ने गतिविधि भएका थिए । सुरक्षा निकायको सतर्कता र सक्रियताका कारण सम्भावित अप्रिय घटना हुन नपाएको प्रहरीले जनाएको छ ।
घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले ती सामग्रीका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान थालेको थियो । सोही क्रममा शनिबार पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–१ सेमराका २३ वर्षीय विकास यादव तथा १८ वर्षीय गान्धी चौहान र सुनिल चौहान रहेका छन् । उनीहरूमाथि जैमया मस्जिद नजिक भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यको तस्बिर प्रदर्शन गरी धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने गतिविधि गरेको आरोप छ ।
त्यसैगरी, कृष्णनगर नगरपालिका–१ मदरनियाका १९ वर्षीय आर्यन मिश्रलाई घटनामा संलग्न व्यक्तिहरूको भिडियो बनाएर सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । कृष्णनगर नगरपालिका–११ रामनगर (कप्तानगञ्ज) का २६ वर्षीय हरिनारायण पाललाई पनि धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने प्रकृतिको सामग्री फेसबुकमा पोस्ट गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।
भारतसँग सीमा जोडिएको तथा धार्मिक रूपमा संवेदनशील मानिने कृष्णनगरमा विगतका वर्षमा दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद चर्किँदा हिंसात्मक घटनासमेत भएका थिए । विगतका घटनालाई ध्यानमा राख्दै यस वर्ष स्थानीय प्रशासन र सुरक्षा निकायले सम्भावित तनाव रोक्न सुरक्षा व्यवस्था कडा बनाएका थिए ।
यसैक्रममा जिल्लाभर स्थापना गरिएका दुर्गा मूर्तिको विसर्जनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो । सुरक्षा सतर्कताका बीच यस वर्ष कृष्णनगरमा विसर्जन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया