

एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?



भोलि सोमवार कात्तिक ९ गतेदेखि काठमाण्डौको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट प्रेमीहरूको महोत्सव नेपाल प्रिमियर लिग (एनपीएल) शुरू हुँदैछ । तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन खेलमा भोलि दिउँसो साढे ४ बजे साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स खेल्दैछन् । पहिलो पटक ‘डीआरएस’ प्रविधि, आईसीसीको मान्यता, विदेशी स्टार खेलाडीहरूको सहभागिताले एनपीएललाई विशेष बनाएको छ ।
एनपीएलमा पहिलो पटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रयोग हुँदैछ । अघिल्ला संस्करणमा अम्पायरका केही निर्णयलाई लिएर प्रश्न उठेपछि खेलाडी र दर्शकले लामो समयदेखि यो प्रविधिको माग गर्दै आएका थिए ।
डीआरएस लागू भएपछि खेलाडीले अम्पायरको निर्णयमा चित्त नबुझे ‘रिभ्यु’ अर्थात् पुनरावलोकन माग गर्न पाउनेछन् । डीआरएसमा तेस्रो अम्पायरको सहयोगमा भिडियो र प्रविधिको प्रयोग गरी निर्णय जाँच गरिनेछ । यसबाट बलको दिशा र स्टम्पिङको विश्लेषण गर्न सकिन्छ । ब्याट र बलबीच सम्पर्क जाँच्न ‘एज डिटेक्शन’ र ‘साउन्ड वेभ’ प्रविधि प्रयोग हुनेछ ।
भिडियो ‘रिभ्यु’ बाट रनआउट, स्टम्पिङ, नो बल र वाइडको जाँच गर्न सकिनेछ । छक्काको दूरी मापन गर्नसमेत डीआरएसको प्रयोग हुनेछ । प्रत्येक टोलीले एक इनिङ्समा २ वटा ‘रिभ्यु’ लिन पाउने व्यवस्था छ । डीआरएसका कारण खेलमा झन्डै ३० मिनेट थप समय लाग्न सक्ने भएकाले खेल तालिकामा पनि थप समयको व्यवस्था गरिएको छ ।
एनपीएलका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता दिएको छ । एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने क्यानको विश्वास छ ।
अब एनपीएलमा खेलाडीले बनाउने रन र लिने विकेट उनीहरूको आधिकारिक टी–२० करियरको तथ्याङ्कमा जोडिनेछन् । खेलाडीको व्यक्तिगत प्रदर्शन अन्तर्राष्ट्रिय टी–२० रेकर्डमा गणना हुनु यस संस्करणको मुख्य परिवर्तन हो ।
आधिकारिक मान्यता नहुँदा टेस्ट खेल्ने देशका खेलाडीलाई एनपीएलमा ल्याउन फ्रेन्चाइज टोलीलाई कठिनाइ थियो । आईसीसीको मान्यतापछि विदेशी खेलाडी अनुबन्ध गर्ने बाटो सहज भएको छ । यससँगै विश्व क्रिकेटमा स्थापित खेलाडीको सहभागिता बढेको छ ।
एनपीएलमा विदेशी खेलाडीको सहभागितालाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरिएको छ । प्रत्येक फ्रेन्चाइज टोलीले ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । तर प्लेइङ–११ मा धेरैमा ४ जना विदेशी खेलाडीमात्र खेलाउन पाइनेछ जसमा एसोसिएट सदस्य राष्ट्रका कम्तीमा १ जना खेलाडी हुनुपर्ने व्यवस्था छ ।
क्यानले पहिलो र दोस्रो संस्करणमा देखिएका समस्या सुधार गर्दै सिट सङ्ख्या थप, शौचालय सुधार, पिच परिमार्जनलगायतका काम पनि गरेको छ । एनपीएल दोस्रो संस्करणको तुलनामा यस पटक झन्डै २ हजार सिट सङ्ख्या थप गरिएको छ । दर्शकका लागि छाना भएको प्यारापिटको व्यवस्था पनि गरिएको छ ।
दर्शकले टिकट काटेर मैदान प्रवेश गरेदेखि खेल हेरेर फर्किँदासम्म सहज रूपमा आवतजावत गर्न सक्ने वातावरण बनाउन व्यवस्थापनमा सुधार गरिएको क्यानले जनाएको छ । अघिल्लो संस्करणमा दर्शकले शौचालयको अपर्याप्त सुविधा र मैदानमा आवतजावत गर्दा धूलोको समस्या भोग्नुपरेको गुनासो गरेका थिए । यस पटक ती समस्या दोहोरिन नदिन सुधारका काम गरिएको क्यानले जनाएको छ ।
यस पटक कीर्तिपुर मैदानको पिचमा पनि काम गरिएको छ । नयाँ माटो प्रयोग गरेर पिचहरू परिमार्जन गरिएको छ भने मैदानको ‘आउटफिल्ड’ लाई थप हरियो र स्तरीय बनाइएको छ ।
प्रतियोगिताका लागि खेलाडी र सञ्चारकर्मीका लागि पनि केही संरचना थपिएका छन् । खेलाडीका लागि निजी भोजन सुविधासहितको डग आउट बनाइएको छ । सञ्चारकर्मीका लागि मिडिया सेन्टर थप व्यवस्थित गरिएको छ । एलईडी स्कोर बोर्डले रङ्गशालामा डिजिटल प्रदर्शनका लागि थप सुविधा उपलब्ध गराएको छ ।
एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया