

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै



सामान्यतया कुनै पनि गुरुयोजना कार्यान्वयनका लागि पाँचदेखि १५ वर्षको समय पर्याप्त मानिन्छ तर विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको विकास गुरुयोजना भने सुरु भएको ४८ वर्ष बितिसक्दा पनि अधुरै छ । समयमै काम पूरा नहुनु र गुरुयोजनाको मूल मर्मविपरीत भौतिक संरचना निर्माण हुन थालेपछि यसको औचित्य र पुनरवलोकनबारे बहस सुरु भएको छ ।
विश्वका बुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीलाई व्यवस्थित आध्यात्मिक गन्तव्य बनाउने उद्देश्यका साथ जापानी वास्तुकलाविद् प्राविधिक प्रा. केन्जो टाङ्गेले सन् १९७८ मा छ वर्ष लगाएर गुरुयोजना तयार गर्नुभएको थियो । तत्कालीन लुम्बिनी विकास समितिले सोही वर्ष स्वीकृत गरी १७ वर्षभित्र पूरा गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थियो ।
लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानिन राईले लामो समय बितिसक्दा पनि काम सम्पन्न नहुनुका साथै गुरुयोजनाको मर्मविपरीत कार्यहरू भएकाले यसको पुनरवलोकन आवश्यक भइसकेको बताउनुभयो । उहाँका अनुसार गुरुयोजनालाई कसरी तार्किक निष्कर्षमा पुर्याउने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ ।
गुरुयोजना पूरा गर्न बजेट अभाव भएपछि २०७८ वैशाख १४ गते अर्थ मन्त्रालयले सात अर्ब रुपियाँको स्रोत सुनिश्चित गरेको थियो । सोही आधारमा कोषले पहिलो चरणमा तीन अर्ब ६० करोड ९७ लाख रुपियाँको ठेक्का सम्झौता गरी काम अगाडि बढाएको थियो तर अर्थ मन्त्रालयबाट पर्याप्त बजेट निकासा हुन सकेको छैन ।
कोषका लेखा अधिकृत भीम बस्नेतका अनुसार अघिल्लो आर्थिक वर्षमा विनियोजन गरिएको ४१ करोड नौ लाख रुपियाँले ठेक्काको दायित्व भुक्तानी गर्न अपुग भयो । उहाँ भन्नुहुन्छ, “अझै ६० करोड रुपियाँ अपुग छ ।” त्यस्तै दोस्रो चरणका लागि दुई महिनाअघि सम्झौता गरिएको दुई अर्ब ८९ करोड ९० लाख रुपियाँको ठेक्काका लागि अर्थ मन्त्रालयले बजेट निकासाको निर्णय नदिँदा कार्यादेश दिन नसकिएको कोषले जनाएको छ ।
अर्कोतर्फ बजेटको अन्योलसँगै गुरुयोजनाको मूल भावनाविपरीतका काम भएको भन्दै आलोचना बढेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा ठेक्का आह्वान गर्नुपर्नेमा स्वदेशी निर्माण व्यवसायीमार्फत काम गराइएको र प्राकृतिक वातावरण जोगाउनुको सट्टा कङ्क्रिटका संरचना निर्माणमा प्राथमिकता दिइएको छ ।
एक पुरातत्व अधिकृतका अनुसार गुरुयोजनामा उल्लेख नै नभएका स्थानमा कालोपत्रे सडक र ठुला पक्की पुलसहित दुई दर्जनभन्दा बढी अनधिकृत संरचना निर्माण गरिएका छन् । जताततै आधुनिक पक्की संरचना बनाइँदा लुम्बिनीको शान्त र आध्यात्मिक वातावरण प्रभावित भएको छ ।
पर्याप्त बजेट अभाव, ढिलासुस्ती र गुरुयोजनाको मर्मविपरीतका कामले गर्दा सन् २०८० भित्रै शतप्रतिशत काम सम्पन्न गर्ने पछिल्लो लक्ष्यसमेत अधुरै रहेपछि लुम्बिनी विकासको मोडेलमै पुनरवलोकन गर्नुपर्ने आवश्यकता झनै टड्कारो बनेको सरोकारवालाको भनाइ छ ।


खबर सबै
-
विश्व वरियतामा नेपाल १६औँ स्थानमा
-
चाडपर्वमा २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन
-
भर्तापुर आधारभूत विद्यालयको सामाजिक परीक्षण सम्पन्न
-
लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै
-
स्वास्थ्यकर्मी कटौतीपछि बन्द भयो यशोधरा आधारभूत अस्पताल
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे, यस्ताे छ घटस्थापनादेखि विजया दशमीसम्मको शुभसाइत
-
लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै
-
स्वास्थ्यकर्मी कटौतीपछि बन्द भयो यशोधरा आधारभूत अस्पताल
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे, यस्ताे छ घटस्थापनादेखि विजया दशमीसम्मको शुभसाइत
-
नव प्रभात सहकारीको २३औँ साधारणसभा : ४४ करोड बढी कारोबार, ५५ लाख खुद नाफा
-
देशभर देखिएको रगत अभावलाई मध्यनजर गर्दै लायन्स क्लबको रक्तदान, ५२ पिन्ट संकलन
-
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै







प्रतिक्रिया