

स्वास्थ्यकर्मी कटौतीपछि बन्द भयो यशोधरा आधारभूत अस्पताल



कपिलवस्तुको यशोधरा गाउँपालिकाले सञ्चालन गर्दै आएको आधारभूत अस्पताल बन्द भएको छ । पालिकाले दरबन्दीबिना व्यवस्थापन गर्दै आएका स्वास्थ्यकर्मी कटौती गरेपछि गत जेठ २९ गतेदेखि अस्पताल बन्द रहेको हो । अस्पतालको सेवा बन्द भएपछि चालु आर्थिक वर्षदेखि उक्त स्वास्थ्य संस्था स्वास्थ्य चौकीका रूपमा मात्र सञ्चालन भइरहेको छ ।
गाउँपालिकाले अस्पताल भवन निर्माण सम्पन्न नहुँदै स्वास्थ्य चौकीबाटै आधारभूत अस्पतालको सेवा सञ्चालन गर्दै आएको थियो । अस्पतालका लागि आवश्यक पूर्वाधार तथा स्थायी जनशक्तिको व्यवस्था हुन नसक्दा सेवा निरन्तरता दिन समस्या भएको बताइएको छ । पालिकाले आन्तरिक दरबन्दी सिर्जना नगरी करार सेवामार्फत स्वास्थ्यकर्मी नियुक्त गरेर अस्पताल सञ्चालन गर्दै आएको थियो ।तर स्वीकृत दरबन्दीबाहेकका कर्मचारी कटौती गरिएपछि अस्पतालबाट उपलब्ध हुँदै आएका सेवा बन्द
भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताउनुभयो । उहाँका अनुसार दरबन्दीबाहेकका कर्मचारी हटाइएपछि अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्तिको अभाव भएको हो ।
अस्पताल सञ्चालनमा रहँदा स्थानीयवासीले गाउँमै चिकित्सकीय सेवा, प्रयोगशाला तथा भिडियो एक्स–रेलगायतका आधारभूत स्वास्थ्य सेवा पाउँदै आएका थिए । अहिले अस्पताल बन्द भएपछि स्वास्थ्य चौकीमार्फत प्रदान हुने नियमित स्वास्थ्य सेवा, प्रसूति सेवा र सुरक्षित गर्भपतन सेवामा मात्र सीमित भएको स्वास्थ्य चौकीका प्रमुख केशवराज घिमिरेले बताउनुभयो ।
अस्पताल बन्द भएपछि सामान्य उपचारका लागि समेत अन्य स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था आएको स्थानीय नागरिक अगुवा हजरत अलीले बताउनुभयो । गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउँदै आएका नागरिकलाई अस्पताल बन्द भएपछि समस्या भएको उहाँको भनाइ छ ।
अस्पताल सञ्चालनमा रहँदा दैनिक औसत ८० जना बिरामी उपचारका लागि आउने गरेको तत्कालीन चिकित्सक डा. अमूल्य पाठकले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा एक जना चिकित्सकसहित १८ जना कर्मचारीले सेवा प्रदान गर्दै आएका थिए । तीमध्ये आठ जना अस्थायी कर्मचारी थिए । अस्थायी कर्मचारीतर्फ एक जना चिकित्सक, तीन जना एचए, एक जना फार्मेसी र एक जना प्रयोगशालाका कर्मचारी कार्यरत थिए ।


खबर सबै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे, यस्ताे छ घटस्थापनादेखि विजया दशमीसम्मको शुभसाइत
-
नव प्रभात सहकारीको २३औँ साधारणसभा : ४४ करोड बढी कारोबार, ५५ लाख खुद नाफा
-
देशभर देखिएको रगत अभावलाई मध्यनजर गर्दै लायन्स क्लबको रक्तदान, ५२ पिन्ट संकलन
-
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
-
स्वास्थ्य बिमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
-
रुपन्देहीमा चलाइयो गोली, तीनजना पक्राउ
-
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
-
स्वास्थ्य बिमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
-
रुपन्देहीमा चलाइयो गोली, तीनजना पक्राउ
-
सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा गुल्मीका पन्थको मृत्यु
-
ज्येष्ठ नागरिकको आँगनमै पुगेर ‘जस्मिन बड्स’का विद्यार्थीले दिए सम्मान र शुभकामना
-
नियमित अन्तरराष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध विमानस्थल, निजी क्षेत्रको अर्बौं लगानी जोखिममा







प्रतिक्रिया