दशैंको टीकाको साइत बिहान १०:२६ बजे, यस्ताे छ घटस्थापनादेखि विजया दशमीसम्मको शुभसाइत

 यस वर्षको विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार यस वर्ष कात्तिक ४ गते बुधबार विजया दशमी परेको छ। सोही दिन देवी विसर्जन तथा मान्यजनबाट टीका र जमरा ग्रहण गरिनेछ। देवी विसर्जनको शुभसाइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको समितिले जनाएको छ।

विजया दशमीका दिन टीका लगाउँदा टीका लगाइदिने र लगाइमाग्ने दुवै व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ।

यस वर्षको बडादशैं असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापनासँगै सुरु हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ।

समितिका अनुसार उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत मानिएको छ।

त्यसको भोलिपल्ट असोज २६ गते सोमबार बिहान १० बजेर ७ मिनेटमा झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा फेर्दा पश्चिम मोहडा फर्काउनुपर्ने समितिले जनाएको छ।

त्यस्तै, असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ भने असोज ३१ गते शनिबार फूलपाती परेको छ।

फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ बजेर ३७ मिनेटमा र स्थिरासनको शुभसाइत बिहान १० बजेर ३९ मिनेटमा रहेको छ।

कात्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कात्तिक ३ गते मंगलबार महानवमी परेको छ।

कात्तिक ४ गते विजया दशमीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा तथा स्थिरासनको शुभसाइत दिउँसो ११ बजेर ५२ मिनेटमा रहेको समितिले जनाएको छ। सोही दिन खड्गयात्रासमेत हुनेछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशित गरेको २०८३ सालको पञ्चाङ्गअनुसार यस वर्ष विजया दशमी कात्तिक ४ गते बुधबार परेको छ।

प्रतिक्रिया

खबर सबै