नव प्रभात सहकारीको २३औँ साधारणसभा : ४४ करोड बढी कारोबार, ५५ लाख खुद नाफा


राजेन्द्र खनाल, कपिलवस्तु || कपिलवस्तुको बाणगंगा नगरपालिका–९ बर्दहवास्थित श्री नव प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा आइतबार सगरमाथा विद्या मन्दिर विद्यालयको प्राङ्गणमा सम्पन्न भयो ।

संस्थाका अध्यक्ष बसन्त खनालको अध्यक्षता तथा बाणगंगा नगरपालिका–९ का वडाध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू भुवनेश्वर पौडेल, ध्रुव बेल्बासे तथा जग्गादाता कुमार मधु बेल्बासे विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

सभामा सचिव दिपक कुमार कुँवरले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक निर्मला खरालले लेखा प्रतिवेदन तथा ऋण लगानी उपसमिति संयोजक छत्रमणि पाण्डेले धितो मूल्याङ्कन तथा ऋण सिफारिस उपसमितिको प्रतिवेदन प्रस्तुत गरे । अध्यक्ष बसन्त खनालले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

प्रस्तुत प्रतिवेदनलाई अध्ययन गर्दा संस्थाको आर्थिक वर्ष २०८२/०८३ को यथार्थ विवरणअनुसार नव प्रभात सहकारीमा हाल १ हजार ४१४ जना शेयर सदस्य रहेका छन्। अघिल्लो आर्थिक वर्षमा १ हजार ४०७ जना शेयर सदस्य रहेकोमा चालु वर्षमा १८ जना नयाँ सदस्य थपिएका उल्लेख छ ।

त्यस्तै, संस्थाको शेयर पूँजी १ करोड २९ लाख ६२ हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १ करोड २४ लाख १ हजार २ सय रुपैयाँ रहेको शेयर पूँजीमा यस वर्ष ५ लाख ६१ हजार ४ सय रुपैयाँ वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

संस्थाको निक्षेप १६ करोड ७० लाख २९ हजार २ सय ९४ रुपैयाँ तथा कर्जा लगानी १२ करोड २७ लाख २९ हजार ११ रुपैयाँ पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा १६ करोड ६६ लाख ९७ हजार ९ सय २ रुपैयाँ कुल आम्दानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै, संस्थाको वार्षिक कारोबार ४४ करोड ६२ लाख ४२ हजार ५ सय ४ रुपैयाँ पुगेको छ। सम्पूर्ण खर्च कटाएर संस्थाले ६७ लाख ८१ हजार ३ सय १ रुपैयाँ वार्षिक मुनाफा गरेको छ भने खुद मुनाफा ५५ लाख ३३ हजार ३ सय ८४ रुपैयाँ रहेको छ।

सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत शेयर राहत कार्यक्रमलाई समेत निरन्तरता दिएको छ। यस्तै आगामी आर्थिक वर्षका लागि ऋण असुलीलाई तीव्रता दिने, व्यावसायिक कृषि प्रवद्र्धनका लागि तालिम तथा ऋण उपलब्ध गराउने, आवश्यक उपकरण जडान गरी सेवा प्रवाह प्रभावकारी बनाउने तथा शेयर सदस्यलाई वित्तीय साक्षरता र सहकारी शिक्षासम्बन्धी तालिम सञ्चालन गर्ने योजना अघि सारेको छ।

त्यस्तै, सुत्केरी सम्मान तथा शेयर सदस्य राहत कार्यक्रमलाई निरन्तरता दिने, स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिममा सहभागी गराउने र सहकारीसम्बन्धी जिल्ला, प्रदेश तथा राष्ट्रिय संघसंस्थासँग समन्वय बढाउने नीति लिइएको छ।

महिला लघुउद्यम प्रवद्र्धनका लागि ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने तथा ७० वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यलाई पालैपालो एकदिने धार्मिक भ्रमण गराउने कार्यक्रमसमेत आगामी योजनामा समेटिएको छ। साथै, शेयर सदस्यलाई शेयर वृद्धिका लागि प्रोत्साहित गर्दै २० लाख रुपैयाँ शेयर वृद्धि गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलले स्थानीयस्तरमा संकलन भएको सानो–सानो पूँजीलाई एकीकृत गरी सदस्य तथा समुदायको आर्थिक अवस्था सुधारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् | उनले सहकारीले केवल बचत तथा ऋणको कारोबारमा सीमित नभई कृषि, उद्यम, स्वरोजगार तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै सदस्यलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्ने धारणा राखे।

कार्यक्रममा पुर्व अध्यक्षहरु भुवनेश्वर पौडेल, धुव्र बेल्बासे, भलवाड स्वास्थ्य चौकी प्रमुख जितविकास रायमाझी र साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दिपक बस्नेतले सम्बोधन गर्दै पछिल्लो समय देखिएको आर्थिक चुनौतीका बीच संस्थाको वित्तीय अनुशासन, पारदर्शिता र ऋण असुलीलाई प्राथमिकता दिँदै शेयर सदस्यको विश्वास कायम राख्नुपर्नेमा जोड दिए।

संस्थाका अध्यक्ष बसन्त खनालले आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थासहित सहकारी क्षेत्रमा समेत चुनौती देखिएको अवस्थामा सदस्यको विश्वास, संस्थागत सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता, असल ऋणी, एकल महिला, जेष्ठ सदस्य नियमित बचतकर्तालाई सम्मान गरेको छ भने संस्थाका पचास हजार शेयर रकम पुर्याएका दुईजना सदस्यहरुलाई पनि सम्मान गरेको छ ।

कार्यक्रम सचिव दिपक कुमार कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो। सभामा संस्थाका पदाधिकारी, कर्मचारी, उपसमिति सदस्य, शेयर सदस्य तथा स्थानीय जनप्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

खबर सबै