स्वास्थ्य बिमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । स्वास्थ्य बिमा बोर्डले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि नयाँ आबद्धता, नवीकरण र स्वास्थ्य बिमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो ।

बोर्डको २०८३ असोज १२ गते बसेको दोस्रो बैठकले स्वास्थ्य बिमालाई डिजिटल प्रणालीमा लैजाने निर्णय गरेको हो । बैठकले राष्ट्रिय परिचयपत्रसँगै इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) र अन्तर्राष्ट्रिय रोग वर्गीकरण प्रणाली (आइसीडी–११) प्रयोगमा ल्याउने निर्णय गरेको हो । 

बोर्डका अनुसार, यसबाट बिमितको पहिचान, दाबी परीक्षण र भुक्तानी प्रक्रियालाई थप व्यवस्थित तथा पारदर्शी बनाउने लक्ष्य छ ।

नयाँ व्यवस्थाअनुसार सामान्य तथा लक्षित वर्गका सबै बिमित परिवारले (एचआइवी– पोर्टल) मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ । राष्ट्रिय परिचयपत्रलाई बिमा प्रणालीसँग जोड्दा एउटै व्यक्तिको दोहोरो आबद्धता नियन्त्रण गर्न, ‘नो योर कस्टमर विवरण अद्यावधिक गर्न तथा वास्तविक बिमितको पहिचान सुनिश्चित  गर्नुपर्नेछ । 

त्यस्तै, स्वास्थ्य संस्थाले प्रयोग गर्ने (इलोक्ट्रोनिक मेडिकल रेकर्ड)बाट प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई नियमानुसार मान्यता दिने निर्णय भएको छ । यसले हस्तलिखित प्रेस्क्रिप्सन, म्यानुअल दाबी र कागजी अभिलेखमा निर्भरता घटाउने तथा दाबी भुक्तानीमा हुने ढिलाइ कम गर्ने बोर्डको भनाइ छ । 

बिमा दाबीमा रोगको निदान अभिलेखीकरणलाई एकरूप बनाउन पहिलो चरणमा दुई हजार १८९ वटा कस्टमाइज्ड कोड स्वास्थ्य बिमा बोर्डको एकीकृत व्यवस्थापन सूचना प्रणालीमा प्रयोग गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

खबर सबै