आइसीसीले परिवर्तन गर्यो विश्वकप छनोटको संरचना

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संरचनामा परिवर्तन गर्दै सुपर सिक्स चरण हटाएको छ ।

यसअघिका तीन संस्करणमा समावेश गरिएको सुपर सिक्स चरण आगामी छनोट प्रतियोगितामा नराखिने भएको हो ।

आईसीसीले आइतबार इन्डोनेसियाको बालीमा बसेको बैठकपछि नयाँ छनोट संरचना सार्वजनिक गरेको हो । आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । ती टोलीलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि १० टोलीलाई दुई समूहमा विभाजन गरी समूह चरणपछि सुपर सिक्स खेलाइन्थ्यो । त्यस संरचनाअनुसार कुल ३४ खेल हुन्थे र शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउँथे । तर नयाँ संरचनाअनुसार अब छनोट प्रतियोगितामा २३ खेल मात्रै हुनेछन् ।

आईसीसीले यसअघि जुलाईमा स्वीकृत गरेको नयाँ संरचनाअनुसार छनोट प्रतियोगिताको विजेताले सन् २०२७ को १४ टोली सहभागी हुने एकदिवसीय विश्वकपमा सीधै स्थान बनाउनेछ । छनोटमा दोस्रो, तेस्रो र चौथो हुने टोलीले भने विश्वकपको पहिलो चरणका रूपमा रहेको सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन् । त्यस चरणबाट उत्कृष्ट हुने एक टोलीले मुख्य विश्वकपमा स्थान बनाउनेछ ।

छनोट प्रतियोगिताका लागि वरीयताका आधारमा वेस्ट इन्डिज र आयरल्यान्डले स्थान बनाइसकेका छन् । त्यस्तै, विश्वकप लिग–२ बाट अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमान छनोट भएका छन् । बाँकी चार टोलीको टुङ्गो नेपालमा आगामी महिना आयोजना हुने छनोट प्लेअफबाट लाग्नेछ । उक्त प्लेअफमा विश्वकप लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोली गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

सन् २०२८ को पुरुष टी–२० विश्वकप छनोट संरचना

आईसीसीले सन् २०२८ मा आयोजना हुने पुरुष टी–२० विश्वकपको छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ । छनोट प्रतियोगितामा १६ टोली सहभागी हुनेछन् र कुल ३१ खेल खेलाइनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूह चरणपछि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ ।

छनोट प्रतियोगिताबाट आठ टोलीले सन् २०२८ को मुख्य विश्वकपमा स्थान बनाउनेछन् । चार सेमिफाइनलिस्ट टोली स्वतः छनोट हुनेछन् । बाँकी चार स्थान क्षेत्रीय प्रतिनिधित्व र छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा निर्धारण गरिनेछ ।

अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया तथा प्रशान्त क्षेत्र र युरोप गरी पाँच क्षेत्रबाट उत्कृष्ट टोलीलाई छनोटको अवसर दिइनेछ । कुनै क्षेत्रको शीर्ष टोली छनोट प्रतियोगिताको शीर्ष आठभित्र परेमा स्वतः मुख्य विश्वकपमा पुग्नेछ । नवौँदेखि १२औँ स्थानसम्म रहेमा शीर्ष आठमा रहेका तर क्षेत्रीय प्रतिनिधित्व नपाएका कमजोर वरीयताका टोलीको स्थान लिन सक्नेछ । बाँकी स्थान क्वार्टरफाइनलमा पराजित भएका टोलीमध्ये समूह चरणको प्रदर्शन, प्राप्त अङ्क, जित र नेट रनरेटका आधारमा निर्धारण गरिनेछ । तर आफ्नो समूहमा सबैभन्दा कमजोर वरीयतामा रहेका टोलीले भने मुख्य विश्वकपमा छनोट हुने अवसर पाउने छैनन् ।

सन् २०२८ को महिला टी–२० विश्वकप छनोट

आईसीसीले सन् २०२८ मा आयोजना हुने महिला टी–२० विश्वकपको छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ ।

उक्त प्रतियोगिताका लागि अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, बङ्गलादेश, इंग्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड, श्रीलङ्का, आयरल्यान्ड र आयोजक पाकिस्तानले स्वतः स्थान बनाएको विवरणमा उल्लेख छ । बाँकी दुई स्थानका लागि १० टोलीबीच विश्वव्यापी छनोट प्रतियोगिता आयोजना हुनेछ । सन् २०२६ को महिला टी–२० विश्वकपमा सहभागी भए पनि सन् २०२८ का लागि स्वतः छनोट हुन नसकेका नेदरल्यान्ड्स र स्कटल्यान्डले सीधै विश्वव्यापी छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।

उनीहरूसँगै सन् २०२७ मा आयोजना हुने पाँच क्षेत्रीय छनोट प्रतियोगिताबाट आठ टोली विश्वव्यापी छनोटमा पुग्नेछन् । उक्त प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२८ को महिला टी–२० विश्वकपमा बाँकी दुई स्थान सुरक्षित गर्नेछन् ।

प्रतिक्रिया

खबर सबै