

हावासहितको पानीले धान ढल्यो, किसान चिन्तित



भित्र्याउने तयारीमा रहेको धान हावासहितको वर्षाले ढलाएपछि दाङको देउखुरी क्षेत्रका किसान चिन्तित बनेका छन्। पछिल्लो पटक आएको हावाहुरीसहितको वर्षाले राप्ती गाउँपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको धानमा क्षति पुगेको हो।
धान पाकेर काट्ने तयारीमा रहेका बेला हावासहित पानी परेपछि खेतमा धान ढलेको किसानहरूले बताएका छन्। धान ढलेपछि काट्न कठिन हुने, खेतमै दाना झर्ने तथा लामो समयसम्म पानी परिरहेमा धान कुहिने जोखिमसमेत बढेको छ।
किसान टेकेन्द्रराज रावत क्षेत्रीले भित्र्याउने तयारीमा रहेको धान हावासहितको पानीले ढलाउँदा क्षति पुगेको बताए। ‘धान काटेर भित्र्याउने तयारीमा थियौँ। हावासहित पानी परेपछि खेतमै धान ढल्यो,’उनले भने,‘अब समयमै काट्न र सुकाउन समस्या हुने अवस्था आएको छ।’
देउखुरी क्षेत्रमा धान मुख्य खाद्यान्न बालीका रूपमा खेती हुँदै आएको छ। भित्र्याउने समयमा मौसम प्रतिकूल बनेपछि किसानले उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्।
किसानहरूले धानमा भएको क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग र क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय तहसँग माग गरेका छन्।









प्रतिक्रिया