

बाणगंगा नदीमा हामफालेका पुरुष अझै बेपत्ता, प्रहरी भन्छ, ‘खोजी कार्य जारी राखेका छौँ’



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदीमा हामफालेर बेपत्ता भएका पुरुषको अवस्था २४ घण्टा बितिसक्दा पनि अज्ञात रहेको छ। शुक्रबार अपराह्न नदीमा हामफालेका बाणगंगा नगरपालिका–८, मधुवन निवासी अन्दाजी ५५ वर्षीय नारायण बेल्वासेको शनिबार साँझसम्म पनि अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो करिब ३ बजेको समयमा बाणगंगा नदीको पुलमा पुगेका बेल्वासेले आफूले लगाएका कपडा नदी किनारमा राखेर नदीमा हामफालेका थिए। उनी नदीको बहावसँगै केही परसम्म बग्दै गरेको देखेपछि स्थानीयले तत्काल जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।
घटनाको सूचना पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदी तथा आसपासका क्षेत्रमा खोजी सुरु गरेको थियो। तर, लगातारको वर्षा र नदीमा पानीको सतह उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार बेपत्ता बेल्वासेको खोजीका लागि बाणगंगा नदीको तटीय क्षेत्रदेखि महाराजगञ्ज नगरपालिका क्षेत्र र रामघाटसम्म टोली परिचालन गरिएको छ।
बेल्वासेको खोजीका लागि इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा १५ जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै, सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा ११ जना तथा मातहतका प्रहरीबाट प्रहरी नायव निरीक्षक इन्द्रप्रसाद सुवेदीको कमान्डमा १० जनाको टोली खोजीमा खटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीले सम्भावित बहाव क्षेत्रलाई आधार बनाएर नदी किनार, तटीय क्षेत्र तथा रामघाट आसपास खोजी गरिरहेको छ। नदीको बहावले बेपत्ता व्यक्ति भारतीय सीमातर्फ बगाएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय प्रहरीसँग पनि आवश्यक समन्वय भइरहेको डीएसपी सिंहले बताएका छन्। त्यसका लागि मर्यादपुर प्रहरीचौकीमार्फत आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण नदीमा पानीको बहाव तीव्र हुनुका साथै पानीको सतहसमेत उच्च रहेकाले खोजी टोलीलाई नदीमा प्रवेश गरी खोजी गर्न कठिनाइ भइरहेको छ। प्रतिकूल मौसम र नदीको तीव्र बहावका बीच पनि प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
शनिबार साँझसम्म बेल्वासेको अवस्था अज्ञात रहे पनि सम्भावित क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया