‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत

कपिलवस्तु । कपिलवस्तुबाट सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका चर्चित मोडल असिम क्षेत्रीको अभिनय रहेको नयाँ नेपाली गीत ‘कालो केश सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरिएको गीतको भिडियोले युट्युबमा दर्शकको ध्यान खिचिरहेको छ।

गीतमा बिमल अधिकारीको शब्द, श्रीधर अधिकारीको संगीत तथा रचना रिमाल र श्रीधर अधिकारीको आवाज रहेको छ। गीतको भिडियोमा असिम क्षेत्रीसँगै जुना सुन्दासको अभिनय देख्न सकिन्छ।

यसअघि नेपाली लोकदोहोरी तथा अन्य सांगीतिक म्युजिक भिडियोमा अभिनय र नृत्यमार्फत चर्चामा आएका क्षेत्रीले ‘कालो केश’लाई भने आफ्ना अघिल्ला प्रस्तुतिभन्दा केही फरक र नयाँ शैलीको सिर्जना बताएका छन्।

गीतको भिडियोमा जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशन रहेको छ। भिडियोमा असिम क्षेत्री र जुना सुन्दासको अभिनयसँगै आकर्षक दृश्य तथा नृत्यलाई प्रस्तुत गरिएको छ।

कपिलवस्तुबाट उदाएका क्षेत्रीले पछिल्लो समय म्युजिक भिडियोमा निरन्तर सक्रियता बढाउँदै लगेका छन्। विभिन्न गीतका भिडियोमा अभिनय र नृत्यमार्फत दर्शकमाझ परिचित बन्दै आएका उनले ‘कालो केश’मार्फत आफूलाई केही फरक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।

‘कालो केश’ सार्वजनिक भएपछि क्षेत्रीले आफ्नो नयाँ तथा फरक प्रस्तुतिलाई हेरेर दर्शकबाट सल्लाह, सुझाव र प्रतिक्रिया दिन आग्रह गरेका छन्। उनले दर्शकको प्रतिक्रिया र मायाले आगामी सिर्जनामा अझ राम्रो काम गर्न प्रेरणा मिल्ने बताएका छन्।

नयाँ शैलीको प्रस्तुति, चर्चित कलाकारको आवाज र असिम क्षेत्री तथा जुना सुन्दासको अभिनयका कारण ‘कालो केश’ नेपाली संगीतप्रेमीका लागि चासोको विषय बनेको छ।

उक्त गीत असिम क्षेत्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

खबर सबै