

पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै



पाल्पा — ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणमा स्थानीय बासिन्दा र स्थानीय तहले पर्याप्त चासो नदिँदा पश्चिम नेपालकै पुरानो सहरका रूपमा परिचित तानसेनको मौलिकता क्रमशः हराउँदै गएको छ।
तानसेनमा चार सय वर्षसम्म पुराना पाटी, पौवा, मठमन्दिर, ढुङ्गेधारा तथा कलात्मक झ्याल–ढोकाजस्ता ऐतिहासिक सम्पदा छन्। तर, लामो समयदेखि उचित संरक्षण र मर्मतसम्भार हुन नसक्दा यस्ता संरचना जीर्ण बन्दै गएका छन्। जीर्ण भएका संरचनाको पुनर्निर्माण तथा नयाँ संरचना निर्माण गर्दा पुरानो स्वरूप र मौलिक कला–संस्कृति जोगाउन नसक्दा तानसेनको ऐतिहासिक पहिचान नै संकटमा परेको जानकारहरू बताउँछन्।
तानसेनको नारायणस्थान, शीतलपाटी, असनटोल, भीमसेनटोललगायतका क्षेत्रमा रहेका पुराना संरचना हटाएर नयाँ निर्माण गर्ने क्रम बढेको छ। यससँगै पुराना कलाकृति, वास्तुकला र संस्कृतिसँग जोडिएका सामग्रीसमेत हराउँदै गएका छन्।
इतिहासविद् निर्मल श्रेष्ठका अनुसार मठमन्दिर तथा पुराना घरमा प्रयोग भएका बुट्टेदार झ्याल–ढोका, ढुङ्गेधारा, गौमुखेधारा, ठूला ढुङ्गा तथा कलात्मक संरचना विस्तारै लोप हुँदै गएका छन्। पुराना सम्पदा जीर्ण भएपछि संरक्षण गर्नुको सट्टा हटाउने प्रवृत्तिले ऐतिहासिक महत्वका सामग्री नष्ट हुने गरेको उहाँको भनाइ छ।
“तानसेनका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा आफैँमा महत्वपूर्ण धरोहर हुन्। तर, यस्ता सम्पदाको संरक्षणमा नगरपालिका र स्थानीय समुदाय दुवैको पर्याप्त ध्यान पुगेको छैन,” श्रेष्ठले बताउनुभयो।
दुई दशकअघिसम्म तानसेनका करिब ४० प्रतिशत घरमा पुराना झ्याल–ढोका, इँटा तथा कलात्मक आकृति प्रयोग भएको पाइन्थ्यो। यस्ता घर तथा संरचनाले तानसेनको मौलिक स्वरूप झल्काउनुका साथै पर्यटकलाई समेत आकर्षित गर्ने गरेका थिए। तर, अहिले सयदेखि डेढ सय वर्ष पुराना घर भत्काएर आधुनिक शैलीका नयाँ घर निर्माण गर्ने क्रम तीव्र बनेको छ।
स्थानीय संस्कृति अभियन्ता पदम न्यौपानेले पुराना संरचना हटाउँदा तानसेनको मौलिकता नै संकटमा परेको बताउनुभयो। उहाँका अनुसार पुराना घरको स्वरूप पूर्ण रूपमा हटाउनुभन्दा त्यसमा प्रयोग भएका कला, वास्तुशैली र स्थानीय संस्कृतिलाई नयाँ संरचनामा समेत निरन्तरता दिन सकिन्थ्यो।
“पुराना घर हटाएर नयाँ बनाउँदा पनि पुराना कला र संस्कृति झल्किने शैली प्रयोग गर्न सकिन्थ्यो। तर, त्यसका लागि घरधनीलाई प्रोत्साहन गर्ने कुनै प्रभावकारी पहल भएको देखिएन,” उहाँले भन्नुभयो, “तानसेनलाई योजनाबद्ध रूपमा ऐतिहासिक सहरका रूपमा विकास गर्न सके त्यसको प्रत्यक्ष लाभ नगरपालिका र स्थानीय बासिन्दाले समेत लिन सक्थे।”
सम्पदा संरक्षणलाई प्रभावकारी बनाउन घरधनीलाई कर छुट, नक्सापासमा सहुलियत तथा आवश्यकताअनुसार अनुदानको व्यवस्था गर्नुपर्ने स्थानीय बासिन्दा राजेन्द्रगोपाल सिंहको सुझाव छ। उहाँका अनुसार आधुनिक संरचना थप्दै जानुभन्दा विद्यमान ऐतिहासिक सम्पदाको संरक्षण र त्यसलाई पर्यटनसँग जोडेर तानसेनको विकास गर्न सकिन्छ।
स्थानीय तहले स्पष्ट सम्पदा संरक्षण नीति बनाएर पुराना घर तथा संरचनाको अभिलेखीकरण, मर्मतसम्भार र पुनर्निर्माणमा प्रोत्साहन गर्नुपर्ने स्थानीयको माग छ। अन्यथा आधुनिक संरचना निर्माणको बढ्दो क्रमसँगै तानसेनको सयौँ वर्ष पुरानो इतिहास, कला र मौलिक पहिचान हराउँदै जाने जोखिम बढेको छ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया