चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने तयारी गरेको छ।

कालीगण्डकी नदीमा माघ महिनामा स्नान गर्न देशका विभिन्न ठाउँबाट श्रद्धालुहरू रुरुक्षेत्रको रिडी पुग्ने गरेका छन्। यही धार्मिक आस्थालाई संस्थागत गर्दै गाउँपालिकाले माघ महिनाभर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित ‘रुरु महास्नान’ आयोजना गर्ने नीति अघि सारेको हो।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा रुरु क्षेत्रको धार्मिक पहिचानलाई प्राथमिकतामा राख्दै ‘रुरु महास्नान’लाई विशेष कार्यक्रमका रूपमा समेटेको छ। गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडीमा हरेक वर्ष पाँचदिने माघी मेला लाग्दै आए पनि अब त्यसलाई विस्तार गर्दै महिनाभरकै धार्मिक उत्सवका रूपमा विकास गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।

अध्यक्ष ज्ञवालीका अनुसार रुरुक्षेत्रको धार्मिक महत्त्वलाई देशव्यापी बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित गाउँपालिकाले नयाँ योजना अघि सारेको हो।

चारधामलाई जोड्ने ‘शालिग्रामपथ’को अवधारणा

रुरुक्षेत्रलाई नेपालका प्रमुख चार धामसँग जोडेर धार्मिक पर्यटनको नयाँ सर्किट निर्माण गर्ने गाउँपालिकाको योजना छ। यसका लागि चार धाम रहेका स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गरी संयुक्त रूपमा धार्मिक तथा पर्यटनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो।

यसअन्तर्गत त्रिवेणी–देवघाट, रिडी, कागबेनी, मुक्तिनाथ हुँदै दामोदरकुण्डसम्मलाई जोड्ने **‘शालिग्रामपथ’**को अवधारणालाई अघि बढाइनेछ।

कालीगण्डकी नदीमा पाइने शालिग्रामको धार्मिक महत्त्वलाई संरक्षण र प्रचार–प्रसार गर्दै रुरुक्षेत्रलाई राष्ट्रियस्तरको धार्मिक तीर्थाटन केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ।

चारधामसँग जोडिएका स्थानीय सरकारसँग तीर्थयात्रा व्यवस्थापन, आवश्यक पूर्वाधार निर्माण तथा तीर्थयात्रीलाई उपलब्ध गराइने सेवाको गुणस्तर सुधारमा सहकार्य र संस्थागत साझेदारी गर्ने योजना पनि गाउँपालिकाले बनाएको छ।

धार्मिक आस्थासँगै बढ्दै पर्यटकीय आकर्षण

पछिल्ला वर्षहरूमा रुरुक्षेत्रमा धार्मिकसँगै पर्यटकीय गतिविधि पनि बढ्दै गएको छ। भारत र चीन जोड्ने कालीगण्डकी करिडोरमा पर्ने रिडीमा नेपालकै पहिलो तीनमुखे पुल निर्माण भएपछि यस क्षेत्रको आकर्षण थप बढेको छ।

रुरुक्षेत्रमा वर्षैभरि स्नान तथा दर्शनका लागि श्रद्धालु पुग्ने गरेका छन्। रिडीमा पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको ऐतिहासिक ऋषिकेश मन्दिरसँगै गायत्री मन्दिर, शिवालय, भीमसेन मन्दिर, भगवती मन्दिर, हनुमान वाटिका, गणेश–भैरव मन्दिर, सत्येश्वर मन्दिर, सुगन्धविहार, बुद्ध स्तूप, राममन्दिरलगायत धार्मिक तथा ऐतिहासिक स्थल छन्।

रुरुक्षेत्र गाउँपालिका–१ रिडीमा गुप्तेश्वर महादेव मन्दिर, रुरुकन्या मन्दिर, गल्फुले गुफा तथा देवदत्त र रुरुकन्याका मूर्तिलगायतका धार्मिक महत्त्व बोकेका स्थलसमेत छन्।

स्थानीय युवा व्यवसायी रविलाल पन्थका अनुसार रिडीमा धार्मिक आस्था र ऐतिहासिक सम्पदासँगै प्राकृतिक तथा सांस्कृतिक विविधता पनि रहेकाले यस क्षेत्रलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके ठूलो धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।

गाउँपालिकाले ‘रुरु महास्नान’लाई केवल माघी मेलामा सीमित नराखी रुरुक्षेत्रको धार्मिक, ऐतिहासिक र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने अवसरका रूपमा विकास गर्न खोजेको जनाएको छ।

प्रतिक्रिया

खबर सबै