तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो

तीन दिनदेखि बेपत्ता रहेका पाल्पाका दुई युवा बुधबार मृत फेला परेका छन्। मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङगढी जोगदमारका ३२ वर्षीय बिपिन पोखरेल र २३ वर्षीय प्रविन पुन रहेका छन्।

गत भदौ १५ गते बेलुकी करिब ६ बजे लु २१ प ९८७६ नम्बरको मोटरसाइकलमा सत्यवतीतर्फ गएका उनीहरू घर नफर्किएपछि परिवारले भदौ १७ गते बिहान अस्थायी प्रहरी पोष्ट बेलबासमा खबर गरेका थिए ।

दुबै युवाहरू रैनादेबीकै सत्यवतीतर्फ जाने क्रममा मोटरसाइकलसहित खोलामा खसेका थिए ।  तिन दिन देखि सम्पर्कविहीन उनीहरूको शव रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित कञ्चन खोलामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार उनीहरू सोमबार मोटरसाइकलमा रैनादेवी छहरा–८ स्थित सत्यवतीतर्फ गएका थिए। उनिहरू सम्पर्कविहीन भएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए।

सूचना पाए लगत्तै प्रहरी चौकी बेलवासबाट प्रहरी सहायक निरीक्षकसहितको टोली खोजीमा खटिएको थियो। खोजीका क्रममा रैनादेवी छहरा–७, बल्ढेङगढी डुम्रेवासस्थित ठाडाखोलामा उनीहरूले प्रयोग गरेको मोटरसाइकल प्रहरीले फेला परेको थियो। माेटरसाइकल  फेला परेसंगै  उनीहरूकाे खाेजी कार्यलाई थप तीव्र बनाइएको थियो।

खोलामा मोटरसाइकल फेला परेपछि सोही खोलाको तल्लो तटमा खोजी गर्दै जाँदा रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० मौवाघारीस्थित कञ्चन खोलामा दुबै जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।

दुवै जनाको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ।

प्रतिक्रिया

खबर सबै