बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता


कपिलवस्तु । नदिमा नुहाउन गएका दुई बालक बाणगंगा नदिमा बेपत्ता भएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ सिहोखोरस्थित कर्बला नजिकै बाणगंगा नदीमा नुहाउन गएका दुई बालक शनिबार साँझदेखि बेपत्ता भएका हुन । नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएपछि स्थानीय क्षेत्रमा सन्नाटा छाएको छ ।

बेपत्ता हुनेमा १३ वर्षीय सरफराज मुसलमान र ११ वर्षीय उबैद मुसलमान रहेका छन् । उनीहरू शनिबार तीन जना बालकसँगै नदीमा नुहाउन गएको बताइएको छ।

नदीमा सँगै नुहाउन गएका अर्का बालक अर्बाज पठान भने शनिबार साँझ नै सकुशल घर फर्किएका थिए । तर सरफराज र उबैद भने घर नफर्किएपछि परिवारजन र स्थानीयले खोजी सुरु गरेका छन् ।

यशोधरा गाउँपालिका–८ का वडाध्यक्ष साबुद्दिन मुसलमानका अनुसार दुवै बालक बाणगंगा नदीमा बेपत्ता भएका हुन्। घटना थाहा पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ।

उद्धार टोलीले नदीको विभिन्न क्षेत्रमा खोजी गरिरहेको भए पनि यो समाचार तयार पार्दासम्म दुवै बालकको अवस्था अज्ञात छ। नदीमा पानीको बहाव र गहिराइका कारण खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

प्रतिक्रिया

खबर सबै