बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो

रामबहादुर गन्धर्व, कपिलवस्तु | कपिलवस्तु नगरपालिका–९ कुश्मास्थित बुद्धशान्ति आवासीय विद्यालयले वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरी हरियाली दिवस मनाएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षको सक्रिय सहभागिता रहेको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा विद्यार्थीमा प्रकृतिप्रतिको जिम्मेवारीबोध विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल नारायणप्रसाद पौडेलले जानकारी दिए।

कार्यक्रमअन्तर्गत विद्यालय परिसर तथा वरपरका क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै सरसफाइ अभियान सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले वातावरण संरक्षणको महत्वबारे जानकारी प्राप्त गर्दै वृक्षरोपणमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।

प्रिन्सिपल पौडेलले हरियाली वातावरण निर्माणमा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए। उनले वृक्षरोपणले वातावरणीय सन्तुलन कायम राख्न, प्रदूषण न्यूनीकरण गर्न तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले वातावरण जोगाउन वृक्षरोपण आवश्यक रहेको बताउँदै रोपिएका बिरुवाको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै सामाजिक तथा वातावरणीय जिम्मेवारीबारे सचेत बनाउन समय–समयमा यस्ता सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

खबर सबै