

डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम


गुल्मी, स्याङ्जा र पर्वत जिल्लाको सङ्गमस्थल सेतीबेनीमा रहेको एसियाकै ठुलो शिला शालिग्राम संरक्षणको अभावमा बर्सेनि डुबानमा पर्दै आएको छ ।
बर्खायाम सुरु भएसँगै कालीगण्डकी नदीको बहाब बढ्नु र सेतीखोलाले धार परिवर्तन गरी बग्न थालेपछि पछिल्ला तीन वर्षदेखि शिला शालिग्राम जलमग्न हुने गरेको भए पनि यसको दीर्घकालीन संरक्षणमा सरोकारवाला निकायले प्रभावकारी पहल गर्न सकेका छैनन् ।
धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने शिला शालिग्राम बर्खायाममा डुबानमा परेपछि श्रद्धालुलाई नजिकबाट दर्शन गर्न समस्या हुँदै आएको छ । पहिले शिलासम्म पुगेर परिक्रमा गर्दै पूजाआराधना गर्ने व्यवस्था रहे पनि अहिले शिलासम्म पुग्ने बाटोमै खोला बग्ने भएकाले दर्शनार्थी टाढैबाट दर्शन गरेर फर्किन बाध्य छन् ।
शिला शालिग्राम दर्शनका लागि आएका स्याङ्जाको भिरकोट नगरपालिका–२ का रामप्रसाद न्यौपानेले नजिकबाट दर्शन गर्न नपाएको गुनासो गर्नुभयो । उहाँका अनुसार पहिले यस्तो समस्या थिएन तर पछिल्ला वर्षमा खोलाले धार परिवर्तन गरेपछि अवस्था जटिल बन्दै गएको छ ।
शिला शालिग्राम संरक्षणका लागि तीन जिल्लाका स्थानीय तहले पटक पटक पहल गरे पनि आवश्यक बजेट अभावमा ठोस काम हुन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको बिहादी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो सीमित स्रोतले यस्तो ठुलो आयोजना सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारको सहयोग अपरिहार्य रहेको बताएका छन् । पर्वतको बिहादी गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले एक साताअघि तिनै जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदलाई स्थलगत अवलोकन गराई शिला शालिग्राम संरक्षणका लागि आवश्यक पहल गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शिला शालिग्राम संरक्षण स्थानीय तहको मात्र क्षमताभित्रको विषय नभएको बताउनुभयो । उहाँका अनुसार केन्द्र, प्रदेश र स्थानीय तहबिच समन्वय गरेर दीर्घकालीन संरक्षण योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।
उहाँले शिला शालिग्राम वरिपरि निर्माण गरिएको सुरक्षात्मक पर्खाल पाँच वर्षअघि बाढीले भत्काएपछि पुनर्निर्माण हुन नसकेको बताउनुभयो ।
पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर भुसालले शिला शालिग्राम संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । तीन स्थानीय तहका प्रमुखसँग भएको संयुक्त छलफलपछि संरक्षण, अध्ययन तथा दीर्घकालीन विकासका लागि पहल अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिला शालिग्रामलाई धार्मिक आस्थाको केन्द्रसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । उहाँले त्यस क्षेत्रलाई सुन्तला र किवी उत्पादनको केन्द्रका रूपमा विकास गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको बताउनुभयो । संरक्षणका लागि केही बजेट विनियोजन भए पनि पर्याप्त नभएकाले थप स्रोत व्यवस्थापनका लागि पहल भइरहेको उहाँको भनाइ छ ।
सेतीवेणीस्थित शिला शालिग्राममा प्रत्येक नयाँ वर्ष, असारे ठुलो एकादशी, कात्तिके एकादशी तथा मकरसङ्क्रान्तिका अवसरमा विशेष मेला लाग्ने गर्छ । वर्षभरि दैनिक रूपमा पूजाआराधना हुने यस स्थलमा बर्खायाममा डुबानको समस्या दोहोरिँदा धार्मिक पर्यटकसमेत प्रभावित हुँदै आएका छन् ।


खबर सबै
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
लुम्बिनीसहित कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
दाङमा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा
-
रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो
-
आयात बढे पनि भान्छामा ग्यास अभाव: समस्या आपूर्तिमा कि वितरणमा?






प्रतिक्रिया