लाइसेन्स लिन पुगेका सेवाग्राही हैरान, टोकन नपाई घर फर्किन बाध्य

बुटवल | घडीमा बिहानको ८ बज्न नपाउँदै बुटवल यातायात सवारी चालक अनुमतिपत्र -लाइसेन्स) कार्यालय परिषरमा सेवाग्राहीको लाइन सुरू हुन्छ । गत हप्तादेखि कार्यालयमा नयाँ र पुराना नविकरण भएका सवारी चालक अनुमतिपत्र छपाइ भएर आएपछि सेवाग्राहीको चाप बढेको हो । जसका कारण सेवाग्राहीहरुलाई दिनभरजसो लाइन बस्नुपर्ने बाध्यता छ ।

सेवाग्राहीको चापलाई कार्यालयले धान्न नसकेपछि दिनको ६ सयभन्दा बढी टोकन बाँड्न समेत सकेको छैन । अत्यधिक चापले गर्दा सरकारी बिदाको दिन शनिबार र आइतबार पनि यहाँ लाइसेन्स वितरण हुन्छ ।

बुटवल १३ बेलबासमा रहेको कार्यालयमा पुगेका अधिकांश सेवाग्राहीले छापेर आएको लाइसेन्स लिन पनि दुई दिन धाउनु परेको दुखेसो गरेका छन् । दैनिक ६ सय मात्र टोकन वितरण हुँदा धेरैले घण्टौं लाइन बस्नुपरेको छ तर लाइनमा बस्दाबस्दै निर्धारित कोटाको टोकन वितरण बन्द भैदिदा सेवाग्राहीलाइ अर्को दिन पनि उस्तैगरि लाइनमा लाग्नुपरेको छ। कोठा नम्बर ९ र ११ मा पुग्नका लागि घण्टौं लाइन बस्नुपर्ने हैरानीले सेवाग्राहीहरू आक्रोशित छन् ।

नयाँ सरकार बनेपछि केही सुध्रिएको कार्यालयको शैली अहिले पुरानै गतीमा फर्किएको आवाश भएको उनीहरुको गुनासो छ ।
वषौँपछि नविकरण भएर आएको लाइसेन्स लिन बुटवल ५ पुरानो बसपार्कबाट उत्साहका साथमा कार्यालय पुगेका सेवाग्राही विजय गुप्ताले गुनासो गर्दै भने, ‘साह्रै दुःख भयो, बिहानै आएर पनि टोकन पाउन मुस्किल छ, घण्टौं लाइनमा बस्नुपर्छ तै पनि पालो कहिले पर्छ थाहा छैन,टोकन लिन लाइन अनि फेरि लाइसेन्स लिन अर्को लाइन हैरान भयो ।’

लाइनमा रहेकी अर्की सेवाग्राही बुटवल तीनकुनेकी प्रकृती सुवेदीले गुनासो सुनाइन, ‘टोकन लिन २ घण्टा लाइन बसेर पनि कोटा सकिएको भन्दै वितरण नगर्दा लाइसेन्स लिन २ दिन लाग्यो, कर्मचारीहरूले आजको कोटा सकियो, भोलि आउनु भनेर पठाइदिनुभयो । दोस्रो दिन फेरि लाइन बस्नुप¥यो,यति लामो समय र दुःखका बाबजुद काम छिटो भएन।’

हाल बुटवलमा व्यापार गर्दा आउनुभएका त्यस्तै राकेश यादव भन्छन्, ‘यो प्रक्रियालाइ पनि डिजिटल बनाउनुपर्छ र अनलाइन मै टोकन सिस्टम राखे धेरैलाई सजिलो हुन्थ्यो,सबैको समय बचत हुन्थ्यो ।’

बुटवलको न्यू होराइजन माबिमा कक्षा ११ मा पढ्दै गरेका विद्यार्थी शिशिर आचार्यले पहिलेपहिले लाइन बसेर पनि पार नलागेकोले ३ दिन अलि खाली हुने आशामा फेरि आएको बताए ।

अहिले कार्यालयमा अन्य कामहरू ठप्प भएका छन् । सर्भर मर्मत भइरहेकाले सेवा प्रवाहमा थप कठिनाइ भएको कार्यालय प्रमुख माधव शर्माले बताए । कार्यालय प्रमुख शर्मा भन्छन्, ‘सकेसम्म व्यवस्थापन गरिरहेका छौं,माथिबाट एकै पटक पुराना रिन्यु र नयाँ लाइसेन्स ठूलो संख्यामा छापेर पठाएका कारण वितरणमा अस्थायी समस्या आएको हो ।’

सरकारले पुराना लाइसेन्स रिन्यु तथा नयाँ लाइसेन्स एकसाथ पठाउँदा कार्यालयमा चाप बढेको प्रमुख शर्माको भनाइ छ । यसले गर्दा दैनिक टोकन सीमित राख्नुपरेको र अन्य काम प्रभावित भएको उनले स्वीकारेका छन् । सो कार्यालयको सवारी साधनको ट्रायल दिनपनि उस्तै चाप बढेको छ । यो कार्यालयमा दैनिक ४–५ हजार सेवाग्राही पुग्ने गरेका छन् ।

गोरखापत्र अनलाइनबाट ।

प्रतिक्रिया

खबर सबै