

फेला पर्यो दुर्लभ राजगोमनको गुँड

दाङको घोराही उपमहानगरपालिकास्थित अम्बे सामुदायिक वनक्षेत्रमा दुर्लभ मानिने राजगोमन (किङ कोब्रा) सर्पको गुँड फेला परेको छ ।
विश्वकै सबैभन्दा विषालु सर्पका रूपमा परिचित राजगोमनको गुँड फेला परेपछि संरक्षणका लागि वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति र सर्प संरक्षणकर्मीले विशेष निगरानी गर्न थालेका छन् । अम्बे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्रीधर भण्डारीका अनुसार असार ३१ गते वनमा च्याउ खोज्न गएका उपभोक्ताले झाक्रीसेता क्षेत्रमा गुँड फेला पारेका थिए । त्यसपछि चार वर्षदेखि सर्प उद्धार तथा संरक्षणमा सक्रिय कुलदीप न्यौपानेको सहयोगमा गुँड सुरक्षित गरिएको उहाँले बताउनुभयो । अध्यक्ष भण्डारीले गुँड रहेको क्षेत्रमा कुनै असर नपुगोस् भन्ने उद्देश्यले घाँसदाउरा र च्याउ सङ्कलन गर्नसमेत रोक लगाइएको जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख ओमबहादुर वलीले राजगोमनको गुँड फेला परेपछि वन कार्यालयले सामुदायिक वन उपभोक्ता समितिसँग समन्वय गरेर संरक्षण र निगरानीलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँका अनुसार उद्धार गरिएका सर्प संरक्षणमा पनि वन कार्यालयले सहकार्य गर्दै आएको छ ।
चार वर्षदेखि सर्प उद्धार तथा संरक्षणमा सक्रिय कुलदीप न्यौपानेले गुँड रहेको क्षेत्रको नियमित निगरानी गर्दै आउनुभएको छ । उहाँले यसअघि पनि घोराही उपमहानगरपालिका–२, रामपुर–बलरामपुर क्षेत्रमा घरभित्र पसेका राजगोमन सर्प तीन पटकसम्म उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुभएको थियो । न्यौपानेले हालसम्म करिब तीन हजार विषालु तथा अविषालु सर्प उद्धार गरी संरक्षणका लागि डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरिसक्नुभएको छ ।
सर्पसम्बन्धी अनुसन्धानकर्ता तथा स्नेक कन्जरभेसन सोसाइटी अफ नेपालका अध्यक्ष वसन्त सुवेदीका अनुसार राजगोमन अन्य विषालु तथा अविषालु सर्पलाई नै मुख्य आहार बनाउने दुर्लभ प्रजाति हो । यसको संरक्षण नहुँदा अन्य विषालु सर्पको सङ्ख्या बढ्न सक्ने र त्यसले पारिस्थितिक प्रणालीसँगै सर्पदंशका घटना पनि बढाउन सक्ने भएकाले यसको संरक्षण अत्यन्त आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार विश्वभर पाइने सर्पमध्ये राजगोमनले मात्रै चराले जस्तै सुकेका पात, स्याउला र वनस्पति जम्मा गरेर जमिनमै गुँड बनाउने विशेषता राख्छ । उहाँले पोथी राजगोमनले अन्डा पारेपछि बच्चा ननिस्कुन्जेल गुँडको रक्षा गर्ने व्यवहार पनि अन्य सर्पभन्दा फरक रहेको जानकारी दिनुभयो ।
सुवेदीले सामान्यतया पोथी राजगोमनले एक पटकमा ३० देखि ४० वटा अन्डा पार्ने र दुईदेखि तीन महिनाभित्र बच्चा निस्कने बताउनुभयो । ५.५ मिटरभन्दा बढी लम्बाइ पुग्न सक्ने राजगोमनलाई विश्वकै सबैभन्दा लामो विषालु सर्प मानिन्छ ।
नेपालमा अजिङ्गरलाई संवेदनशील वन्यजन्तुको सूचीमा राखेर संरक्षण गरिए पनि समान रूपमा संरक्षण आवश्यक रहेको राजगोमन अझै त्यस्तो सूचीमा नपरेकाले यसको संरक्षणमा अपेक्षित ध्यान पुग्न नसकेको सुवेदीको भनाइ छ ।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया