खडेरीले चापाकल सुकेपछि शिवराजमा हाहाकार

डिलाराम भुसाल : असारको मध्य भइसक्दा पनि वर्षा नभएर लामो समयदेखि खडेरी परेपछि कपिलवस्तुको शिवराज नगरपालिका– ३ मा खानेपानीको हाहाकार मच्चिएको छ। खडेरीका कारण जमिनमुनिको पानीको सतह ह्वात्तै घटेपछि ग्रामीण क्षेत्रका अधिकांश चापाकल (ह्यान्डपम्प)हरू पूर्ण रूपमा सुकेका छन्। खानेपानीको तीव्र संकट झेलिरहेका स्थानीय नागरिकलाई राहत दिन वडा कार्यालयले अहिले ट्यांकरमार्फत घर–घरमै खानेपानी पुर्‍याउन थालेको छ।

वडाका मदवा, खरेन्द्रपुर, सोनबर्सी, शान्तिपुर, हर्षबाहिनी टोल, स्वर्गद्वारी टोल तथा मदवा डाँडा टोलमा भूमिगत पानीको सतह सुकेपछि स्थानीयवासीले काकाकुल हुनुपर्ने अवस्था आएको वडाध्यक्ष टेकलाल सापकोटाले बताए।

संकटको घडीमा नागरिकलाई ओभानो मुख राख्न नदिन वडाध्यक्ष सापकोटाकै विशेष सक्रियतामा ट्यांकरमार्फत घर–घरमा पानी वितरण अभियान सुरु गरिएको हो। हाल दैनिक ५ देखि ६ वटा ट्यांकर प्रयोग गरेर प्रभावित क्षेत्रमा पानी ओसार्ने काम भइरहेको छ। पानीको समानुपातिक वितरण होस् भन्ने उद्देश्यले अहिले प्रत्येक घरपरिवारलाई दैनिक दुई सयदेखि तीन सय लिटरका दरले स्वच्छ खानेपानी उपलब्ध गराइँदै आएको वडाध्यक्ष सापकोटाले जानकारी दिए। वडा कार्यालयका अनुसार यो समस्या समाधान नभएसम्म वा वर्षा नभएसम्म पानी वितरण कार्यलाई निरन्तरता दिइनेछ।

किन सुके चापाकल ?
असार महिना बित्न लाग्दासमेत पर्याप्त वर्षा नभएपछि यतिवेला किसानहरू धान रोपाइँका लागि चिन्तित छन्। आकासेपानीको अभावमा किसानले रोपाइँका लागि ठुला–ठुला डिप बोरिङ चलाएर भूमिगत पानी तान्न थालेपछि जमिनमुनिको पानीको सतह एकाएक घटेको हो। बोरिङले तल्लो तहबाट पानी तान्दा सर्वसाधारणले प्रयोग गर्ने साना चापाकलहरूमा पानी आउन छाडेको स्थानीयको भनाइ छ।

लामो समयको खडेरी र खानेपानीको अभावले जनजीवन निकै कष्टकर बनिरहेका वेला आँगनमै पानीको ट्यांकर आइपुगेपछि स्थानीयले ठुलो राहत महसुस गरेका छन्। स्थानीय विष्णु खनालले पानी नआएर भान्सा चलाउनै धौ–धौ भइसकेको अवस्थामा  वडाले घरमै पानी ल्याइदिएर राहत दिएकाे बताए । 

प्रतिक्रिया

खबर सबै