

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा



एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका लेन्स केप भर्डका गोलकिपर बोजिन्हातर्फ तेर्सिए । उपाधिको बलियो दाबेदार मानिएको युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक सफलता हात पारेपछि ४० वर्षीय बोजिन्हाका आँखाबाट आँसु थामिएका थिएनन् ।
स्टेडियममा उपस्थित हजारौं केप भर्डका समर्थक खुसीले नाच्न र अगाँलो हाल्न थाले भने मैदानमा खेलाडीले एकअर्कालाई समातेर खुसीयाली मनाए । प्रतियोगितामा ‘अन्डरडग’ मानिएको टोलीले विश्वकपको डेब्यु खेलमै बलियो स्पेनविरुद्ध वीरतापूर्ण खेल देखाउँदै इतिहासमा सबैभन्दा अविस्मरणीय नतिजा निकालेको हो ।
खेलपछि ‘प्लेयर अफ द म्याच’ घोषित बोजिन्हा भावुक हुँदै भने, “म मेरा हजुरबुबा–हजुरआमालाई सम्झेर रोएँ, जसले मलाई हुर्काउनुभयो । दुर्भाग्यवश, यो ऐतिहासिक क्षण हेर्न उहाँहरू हुनुहुन्न । आमा पनि भिसा र खर्चको अभावका कारण समयमै यहाँ आउन पाउनुभएन ।” उनले टोलीको एकता नै सबैभन्दा ठूलो शक्ति भएको बताउँदै थपे, “हामी यहाँ विश्वकपको मजा लिन मात्र आएका होइनौं, आफ्नो देशका लागि लड्न र प्रतिस्पर्धा गर्न आएका हौं ।”

जोसिमार डियासको नामले चिनिने बोजिन्हाले ४० वर्ष १२ दिनको उमेरमा विश्वकपमा डेब्यु गर्दै नयाँ कीर्तिमान समेत बनाएका छन् । उनी विश्वकपको डेब्यु खेल खेल्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बनेका छन् । उनले आइतबार मात्रै कुराकाओका इलोय रुमले राखेको कीर्तिमान भंग गरेका हुन् । समग्र विश्वकप इतिहासमा भने इजिप्टका एसाम एल हडारी मात्र डेब्यु गर्दा उनीभन्दा बढी उमेरका थिए ।
२५ वर्षको उमेरमा सन् २०१२ देखि मात्र व्यावसायिक फुटबल सुरु गरेका बोजिन्हाले अनेकौं हिलो–मैलो र हन्डर खाएर यहाँसम्मको यात्रा तय गरेका हुन् । अफ्रिकी महादेशको पश्चिम तटबाट झन्डै ६ सय किलोमिटर टाढा रहेको सानो टापु देश केप भर्डमा फुटबलको पूर्वाधार र अवसर निकै सीमित छन् । उचाइ सानो भएकै कारण सुरुवाती दिनमा टापुको उत्कृष्ट किपर हुँदाहुँदै पनि उनी छनोटमा पर्दैनथे । पछि अवसरको खोजीमा पोर्चुगल पुगेका उनले स्लोभाकिया, एङ्गोला, माल्डोभा र साइप्रसका क्लबबाट व्यावसायिक फुटबल खेले । हाल उनी पोर्चुगलको दोस्रो डिभिजनको क्लब चाभेस आबद्ध छन् ।

स्पेनको लगातारको आक्रमणविरुद्ध चट्टान बनेर उभिएका बोजिन्हाले खेलभरि ७ वटा उत्कृष्ट बचाउ (सेभ) गरे । विश्वकप इतिहासमा ४० वर्षभन्दा बढी उमेरमा योभन्दा धेरै सेभ गर्ने कीर्तिमान बफादार उत्तरी आयरल्यान्डका प्याट जेनिङ्सको नाममा मात्र छ ।
खेल अवधिभर केप भर्डका डिफेन्डर र गोलकिपर बोजिन्हाले देखाएको एकाग्रता र सन्तुलनको विश्वभरका फुटबल विश्लेषकले प्रशंसा गरेका छन् । खेल सकिएलगत्तै सामाजिक सञ्जालमा समेत भाइरल बनेका बोजिन्हाको इन्स्टाग्राम फलोअर्स खेल सकिएको केही घण्टामै ५० हजारबाट बढेर १५ लाख नाघेको छ ।

करिब साढे ५ लाख मात्र जनसंख्या भएको केप भर्ड विश्वकपमा छनोट हुने इतिहासकै तेस्रो सानो राष्ट्र हो । आकारमा बेलायतको शेफिल्ड सहर जत्रो सानो टापु देशले आफ्नो पहिलो खेलमै विश्व फुटबलका स्पेनलाई स्तब्ध पार्दै सबैको मन जित्न सफल भएको हो ।


खबर सबै
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी
-
ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी
-
ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु
-
विश्व रक्तदाता दिवस : रगतदानबाट बच्दै हजारौँ जीवन
-
६ बैंकको घट्यो ब्याजदर, कसको कति ?
-
इलाम र झापाका ८६ चिया उद्योग बन्द हुँदै, एक लाख मजदुरको रोजीरोटीमा संकट











प्रतिक्रिया