जन्मदिनमा पत्रकार अधिकारीकाे आर्थिक सहयाेग,बाणगंगाका घिमिरेलाई उपचारमा राहत

,जितपुर । अधिकांश मानिसहरूले आफ्नो जन्मदिन साथीभाइसँग रमाइलो गर्दै भोजभतेर गरेर मनाउने गर्छन्। तर कपिलवस्तुका एक पत्रकारले भने आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै मानवियताको उदाहरण प्रस्तुत गरेका छन्।

कपिलवस्तुको बाणगंगा नगरपालिका–६, अमौली निवासी पत्रकार तथा सामाजिक अभियन्ता थानेश्वर अधिकारी ले आफ्नो जन्मदिनको अवसर पारेर मेरुदण्ड (स्पाइनल कर्ड) चोटका कारण लामो समयदेखि उपचाररत रहेका प्रकाश घिमिरे लाई नगद १० हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

करिब तीन वर्षअघि खेतमा मलखाद लैजाने क्रममा लडेर गम्भीर घाइते भएका ३१ वर्षीय घिमिरेको मेरुदण्डमा गम्भीर चोट लागेको थियो। दुर्घटनापछि उनले काठमाडौंमा करिब तीन महिना तथा बुटवलस्थित नवजीवन थेरापी सेन्टरमा १८ महिनासम्म उपचार र थेरापी गराएका थिए। चिकित्सकहरूले नियमित थेरापी र थप उपचार आवश्यक रहेको बताए पनि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको छ।

यसैबीच आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाउने उद्देश्यले अधिकारीले घिमिरेको उपचारका लागि सहयोग हस्तान्तरण गरेका हुन्।

“जन्मदिनमा अनावश्यक खर्च गरेर पार्टी गर्नु भन्दा समाजका दुःखमा परेका व्यक्तिलाई सानो भए पनि सहयोग गरौं भन्ने सोचले यो सहयोग गरेको हुँ,” अधिकारीले भने, “यो रकम पर्याप्त त होइन, तर उपचारमा केही राहत पुग्ने विश्वास लिएको छु।”

सहयोग ग्रहण गर्दै घिमिरेले कठिन परिस्थितिमा प्राप्त भएको सहयोगले आफूलाई ठूलो हौसला र राहत मिलेको बताए। उनले सहयोगका लागि अधिकारीप्रति आभार व्यक्त गरेका छन्।

अधिकारीले घिमिरेको उपचारका लागि थप आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहयोगी मन भएका व्यक्ति तथा संघ–संस्थालाई समेत सहयोगका लागि आग्रह गरेका छन्।

जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने अधिकारीको यो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय बिनोद रञ्जनले बताएका छन्।

प्रतिक्रिया

खबर सबै