आज गणतन्त्र दिवस मनाइँदै

आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । 

जनआन्दोलन ०६२/६३ को जगमा गणतन्त्र  घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ । 

विंस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । 

यसैबीच, आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइनेछ ।

सोही दिवसका उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा  हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । 

आजको कार्यक्रमलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भने सम्बोधन गर्ने छैनन् । गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरिसकेका छन् । 

यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास थियो । तर, यसपटक संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न भनी पत्राचार गरिएको छ ।

यसअघि, सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेस गरेका थिए ।

यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरेका थिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । प्रमुख प्रतिपक्षीको अवरोध र विपक्षी दलहरूको बहिष्कारबीच नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।

प्रतिक्रिया

खबर सबै