कपिलवस्तु : बुद्धको प्रतिमासहितको बगैँचा अलपत्र

नारद कोहार : कपिलवस्तुको आरौराकोटनजिकै कनकमुनि बुद्धको प्रतिमासहितको बगैँचा अलपत्र अवस्थामा रहेको छ । कनकमुनि बुद्धको प्रतिमासहितको बगैँचा संरक्षण नहुँदा अलपत्र अवस्थामा रहेको छ । कनकमुनि बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटर पूर्वमा उक्त मूर्ति निर्माण गरी अनावरण गरिएको थियो ।

बुद्धस्थल तीर्थाटनका लागि नेपाल आएका भारतीय सम्राट् अशोकले लुम्बिनीपछि निग्लिहवाको पनि तीर्थाटन गर्नुभएको थियो । तीर्थाटनमा आएका सम्राट् अशोकले नै आफूले भ्रमण गरेको चिनो स्वरूप लुम्बिनी र कपिलवस्तुमा स्तम्भ बनाएर ठड्याउनुभएको थियो । जुन स्तम्भलाई अशोक स्तम्भको नामले विश्वभरका बौद्ध अनुयायीले चिन्ने गर्छन् तर गौतम बुद्धभन्दा पनि पहिलेका बुद्धले शासन गरेका प्राचीन नगरको प्रचारप्रसार र संरक्षण हुन नसक्दा यी स्थलको महìव ओझेलमा परेको भन्दै बुद्ध प्रतिमा निर्माण गरिएको हो । ९० लाख छ हजार ७९९ रुपियाँको लागतमा कनकमुनि बुद्धको मूर्तिसहितको बगैँचा निर्माण गरिएको थियो । डिभिजन वन कार्यालय कपिलवस्तु र लुम्बिनी प्रदेशको सहयोगमा उक्त मूर्ति र बगैँचा निर्माण गरिएको हो ।

स्थानीय राधेश्याम बरईका अनुसार कनकमुनि बुद्धको प्रतिमा निर्माण गर्नु राम्रो काम भए पनि अहिले त्यसको संरक्षणको जिम्मा कसैले नलिएपछि अलपत्र परेको बताउनुभयो । कनकमुनि बुद्धले आफ्नो बाल्यकाल तथा वैवाहिक जीवन व्यतीत गरेको ठाउँ अरौराकोट संरक्षणको अभावमा रहेको उहाँले बताउनुभयो ।

कपिलवस्तु नगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामगोपाल यादवका अनुसार वडासंग त्यसको विकासका लागि पर्याप्त बजेट नभएकाले सङ्घ, प्रदेश र लुम्बिनी विकास कोषले विशेष चासो दिनुपर्ने बताउनुभयो । लुम्बिनी विकास कोष कपिलवस्तुका प्रमुख माधवप्रसाद आचार्यका अनुसार प्रतिमासहितको बगैँचा प्रदेश सरकार र वन कार्यालयको स्वामित्वमा रहेकाले कोषले त्यसको विकासका लागि केही गर्न नसक्ने बताउनुभयो । खाली बगैँचा र प्रतिमा निर्माण गरेर भएन । त्यसको संरक्षण र विकास पनि गर्नुपर्ने उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत यादव सापकोटाले आरौराकोटनजिकैको कनकमुनि बुद्धको प्रतिमासहितको बगैँचा निर्माणको काम अहिले अलपत्र रहेको स्वीकार गर्नुभयो । उहाँले लुम्बिनी प्रदेश सरकार परिवर्तनसँगै मन्त्रालय पनि बाँडफाँड हुँदा समस्या हुँदै आएको बताउनुभयो । सो क्षेत्रको विकासका लागि वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशसँग सहकार्य भइरहेको उहाँको भनाइ छ । यसको संरक्षण गर्न स्थानीय तहको पनि भूमिका उत्तिकै हुनुपर्ने प्रमुख सापकोटाको भनाइ छ । 

प्राचीन कपिलवस्तु नगरी शाक्यमुनि बुद्धले २९ वर्ष जीवन बिताएको स्थल हो । यहाँ बुद्धका पिता राजा शुद्धोधनले राज्य गरेको क्षेत्र रहेकाले कपिलवस्तुलाई पुरातात्त्विक, ऐतिहासिक तथा धार्मिक महत्वको क्षेत्रका रूपमा लिइन्छ ।   

प्रतिक्रिया

खबर सबै