दुई भारतीय नागरिक सहित ४ युवा ब्राउन सुगरसहित पक्राउ

बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगर सहित चार युवालाई पक्राउपछि सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक पनि छन्। भारत उत्तर प्रदेश खिरी तिकुनियाका २६ वर्षीय विजय सिंह र सोही ठाउँकै ३५ वर्षीय तेजेन्द्र कुमार पक्राउ परेका हुन्।

बर्दियाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार उनीहरूको साथबाट २ सय ८० ग्राम ब्राउन सुगर बरामद भएको थियो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, लागुऔषध शाखा कार्यालय नेपालगञ्ज बाँके र जिल्ला प्रहरी कार्यालय बर्दिया बाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई वैशाख २९ गते बेलुकी जिल्लाको गुलरिया नगरपालिका–७ महाकवि टोलस्थित बाबा पेट्रोल पम्प नजिकैको बाइपास रोडबाट नियन्त्रणमा लिएको थियो।

उनीहरूको खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुई भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही दिन राति साढे ८ बजेतिर प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहा चेकपोष्ट सीमा नाका नजिकैबाट भारतबाट नेपालतर्फ आउँदै गरेका थप दुई जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका–२२ बुङमतिका ३० वर्षीय सरोजराज तुलाधर र बाँकेको खजुरा गाउँपालिका–४ एफ गाउँका ३७ वर्षीय दीपकनाथ योगी पक्राउ परेका थिए। प्रहरी निरीक्षक कार्कीका अनुसार उनीहरूको साथबाट ३ ग्राम १८० मिलीग्राम ब्राउन सुगर बरामद भएको थियो।

उनीहरूलाई इलाका प्रहरी कार्यालय मैनापोखराको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

खबर सबै