

गर्भपतन गराउँदा महिलाको मृत्यु प्रकरणः संलग्न चिकित्सकमाथि कारबाही, दुई फार्मेसी बन्द गर्न सिफारिस



रुपन्देही। पाल्पाकी २९ वर्षीया गीता पाण्डेयको गर्भपतनका क्रममा भएको मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले संलग्न चिकित्सकमाथि कारबाही अघि बढाएको छ । काउन्सिलले प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा डा. शतिसकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेयको १३ हप्ताभन्दा बढीको गर्भपतन गराउने क्रममा वैशाख ६ गते मृत्यु भएको थियो । सो घटनापछि काउन्सिलले डा. सम्राट पराजुलीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
काउन्सिलका रजिष्ट्रार डा. शतिसकुमार देवका अनुसार शनिबार बसेको अनलाइन बैठकले छानबिनको अन्तिम प्रतिवेदन नआएसम्मका लागि रूपाखेतीलाई बिरामी जाँच तथा उपचारमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको हो । ‘चिकित्सकहरूको आचारसंहिता २०१७ अनुसार यस्तो निर्णय गरिएको हो, ताकि अनुसन्धान निष्पक्ष होस् र पुनः यस्ता कमजोरी नदोहोरियोस्’ उनले बताए ।
छानबिन समितिको सिफारिसअनुसार पाण्डेयको उपचारमा संलग्न जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । प्रारम्भिक प्रतिवेदनले दुवै संस्थाले आवश्यक अनुमति बिना सेवा प्रवाह गरेको देखाएको छ । इन्दुलेखा क्लिनिकमै डा. रूपाखेतीले गर्भपतन गराएको खुलेको छ ।
काउन्सिलले उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाही सिफारिस गरेको जनाएको छ । साथै, घटनामा फौजदारी अभियोग आकर्षित हुन सक्ने सम्भावना रहेको भन्दै थप अनुसन्धानपछि मात्रै अन्तिम निर्णय हुने काउन्सिलले स्पष्ट पारेको छ । यसका लागि नेपाल प्रहरी को अनुसन्धानलाई समेत आधार बनाइने जनाइएको छ ।
६ सदस्यीय छानबिन समितिले तयार पारेको २६ पृष्ठको प्रतिवेदनमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि कारबाही, अवैध क्लिनिक बन्द, नियमित अनुगमन कडाइ तथा गैरकानुनी रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई दर्ता र नियमन गर्ने सुझाव दिएको छ ।
समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेका अनुसार प्रतिवेदनले उपचारको प्राविधिक पक्षदेखि संस्थागत कमजोरीसम्म औंल्याएको छ । उनका अनुसार बुटवल क्षेत्रमा धेरै क्लिनिकहरू बिनादर्ता र अनुमति सञ्चालनमा रहेको तथा इजाजतभन्दा बढी सेवा दिइरहेको अवस्था देखिएको छ ।
काउन्सिलका उपाध्यक्ष डा. कुन्जाङ शेर्पाले उक्त घटनाले निजी स्वास्थ्य संस्थाहरूको कानुनी अवस्था, सेवा गुणस्तर र नागरिकको स्वास्थ्य अधिकारमाथि गम्भीर प्रश्न उठाएको बताए । ‘बाहिरबाट सेवा दिइरहेकोजस्तो देखिए पनि भित्र धेरै समस्या छन्’ उनले भने, ‘अब नियमित अनुगमन र कडाइ अपरिहार्य छ ।’
यो घटनामा मृतकले सुरुमा चेकजाँच गराएको खत्री मेडिकलका विषयमा भने केही खुलेको छैन । पीडित पक्षले खत्री मेडिकलको मुख्य दोष भएको भन्दै ताला लगाएको थियो तर छानविन समितिले यसमा उसले चेकजाँच मात्रै गराएको र गर्भपतनका विषयमा केही नबोलेको जनाइएको छ ।
घटनापछि छानविनको माग गरेका परिवारजनले गीता पाण्डेको शव बुझेका छन् । नेपाल मेडिकल काउन्सिलले छानविन समिति गठन गरेर अनुसन्धान शुरु गरेपछि परिवारले शव बुझेका हुन् । उनको शुक्रवार पाल्पास्थित राम्दी खोलामा अन्तिम दाहासंस्कार गरिएको पाण्डेका आफन्त पर्सुराज अर्यालले जानकारी दिए ।
रुपन्देहीका १७ मेडिकलहरु बन्द गराइयो
यता जिल्ला प्रशासनले रुपन्देहीमा मापदण्ड विपरीत संचालन भएका १७ वटा मेडिकल बन्द गराएको छ । बैशाख ११ गते मेडिकल तथा स्वास्थ्य संस्थाहरुमा गरिएको अनुगमनमा मापदण्ड विपरीत र इजाजत नलिई सञ्चालित १७ मेडिकल बन्द गराइएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत बिष्णुप्रसाद ज्ञवाली, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक असोक जिसीसमेतको प्रहरी टोली, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देही स्वास्थ्य प्रमुख उमादेवी थापा, सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधसिहितको टोलीले भैरहवा क्षेत्रमा रहेका १७ वटा विभिन्न मेडिकल क्लिनिक तथा फार्मेसीहरू दर्ता नभएका तथा मापदण्ड विपरीत सञ्चालन भएकाले बन्द गरिएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिएका छन् ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया