
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको अतिरिक्त बक्यौता तिर्न उद्योगलाई पत्राचार गरेको छ । प्राधिकरणमातहतका कार्यालयले उद्योगीलाई पत्राचार गरेका हुन् । प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठले यसअघि किस्ता तिरिरहेको उद्योगले पनि किस्ता नतिरेपछि पत्राचार गरिएको जानकारी दिए ।
“लामो समय भयो । यसअघि तिरिरहेका उद्योगी पनि किस्तामा आएनन् । हामीले सबै उद्योगलाई पत्राचार गरेका छौँ, ” उनले भने, “अब प्रक्रियाअनुसार अघि बढ्छौँ ।”
यसअघि गत कात्तिकमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले डेडिकेटेड तथा ट्रंकलाइनको अतिरिक्त बक्यौतामा धरौटी राखेर समाधानको उपाय निकालेका थिए । तर, प्राधिकरणले धरौटी नचिनेको र उद्योगीले किस्ता निरन्तर गर्न नचाहेपछि समस्या पुनः दोहोरिएको हो ।
कुलमान घिसिङ ऊर्जामन्त्री हुँदा उद्योग किस्ताबन्दीमा आएका बताएका थिए । तर, तिनले किस्ता निरन्तरता नदिएपछि समाधानउन्मुख विवाद पुनः सतहमा आएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, पहिलो किस्ता तिरेका उद्योगहरूले निरन्तरता दिएका छैनन् । यसअघि कात्तिक ४ गते प्राधिकरणले लाइन काटेपछि अधिकांश उद्योग किस्ताबन्दीमा आएका थिए । तर, पहिलो किस्ता तिरेका उद्योगीहरूले किस्ता निरन्तर हुन चाहेनन् ।
केही ठूला उद्योगहरूले बक्यौताको पहिलो किस्ता तिरे, तर त्यसलाई निरन्तरता दिएनन् ।
उनीहरूबाट पहिलो किस्ताबापत प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको थियो ।
२०७२ माघ देखि २०७५ वैशाखसम्म ३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । पहिलो किस्ता तिरेका ३५ उद्योगबाट पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ । बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल हो ।
प्राधिकरणले पुनरावलोकन समितिमा परेका उजुरी रद्द गरेर किस्तामा नआएका उद्योगमा कात्तिक ४ र ७ गते लाइन काटेको थियो । २०८१ चैत ११ मा कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएसँगै पुनरावलोकन समितिमा उजुरी हाल्न सूचना जारी गरिएको थियो ।
जसमा ४६ उद्योगले ‘डेडिकेटेड तथा ट्रंकलाइन’बाट विद्युत् उपभोग गरेबापत २०७२ माघदेखि २०७५ वैशाखसम्म थप बिल पुनरावलोकनका लागि निवेदन दिएका थिए ।

तर, जेनजी आन्दोलनपश्चात ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हाल्न आएका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेसँगै पुनरावलोकन रद्द गरी पहिलो किस्ता तिर्न सूचना जारी गरिएको थियो ।
यसअघि प्राधिकरणको निर्णयविरुद्ध पञ्चकन्या समूह विद्युत् नियमन आयोग पुगेको थियो । आयोगले उक्त मुद्दामा ०८२ चैत १ गते दाबी नपुग्ने भन्दै प्राधिकरणको पक्षमा फैसला गरेको थियो । पञ्चकन्याको उजुरीसमेत खारेज गर्दै ट्रंकलाइन प्रयोगबापत भुक्तानी गर्नुपर्ने निर्णय गरेको छ ।
डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् प्रयोग गरेको भन्दै प्राधिकरणले मागेको बक्यौता महसुल खारेज गरिपाऊँ भन्ने पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालिको उजुरीमा आयोगले अध्ययन गरेको थियो । उक्त अध्ययनले उद्योगको मागदाबी पुष्टि हुन नसक्ने ठहर गरेको थियो ।
विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा १८ बमोजिम दायर उक्त उजुरीमा आयोगले उपलब्ध तथ्य, प्राविधिक विवरण तथा दुवै पक्षका कानुन व्यवसायीको बहसका आधारमा उजुरीकर्ताको माग पुग्न नसक्ने ठहर गरेको जनाएको छ ।
आयोगका अध्यक्ष रामप्रसाद धितालको इजलासको ठहर थियो, “तथ्यहरूको आधारमा विवेचना गर्दा उजुरीकर्ताको मागदाबी पुग्न नसक्ने ठहर्छ ।”
आयोगका अनुसार, विवादित अवधिको विद्युत् खपत, उद्योगको उत्पादन अवस्था तथा प्राविधिक तथ्यांकको तुलनात्मक अध्ययन गरिएको थियो ।
“लोडसेडिङको अवधिमा पनि उद्योगमा विद्युत् खपत भएको तथ्यांक देखिएको छ,” उनले भने, “लाइन ट्रिप भएको भए पनि अधिकांश अवस्थामा तुरुन्तै पुनः चार्ज गरी विद्युत् आपूर्ति सुचारु गरिएको देखिन्छ ।”
आयोगले यस विषयमा प्राविधिक टोली गठन गरी उद्योगको विद्युत् खपतसम्बन्धी तथ्यांक अध्ययन गराएको जनाएको छ । उपलब्ध विवरणअनुसार विवादित अवधिमा उद्योगको उत्पादन र विद्युत् खपतमा उल्लेखनीय कमी नदेखिएको निष्कर्ष छ ।
आयोगका अनुसार, पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजले प्राधिकरणसँग डेडिकेटेड फिडर वा ट्रंकलाइन सेवा आफूले माग नगरेको, सञ्चालक समितिको निर्णय नभएको तथा विवादित महसुलको टीओडी (टाइम अफ डे) डाटा उपलब्ध नभएको भन्दै बक्यौता नतिर्ने दाबी गरेको थियो ।
उजुरीपछि आयोगको टिमले गरेको अध्ययनले उद्योग र प्राधिकरण दुवैको केही कमजोरी देखाएको छ । प्राधिकरणले समयमै बिलिङ नगरेकोलगायत त्रुटि औल्याएको थियो ।
आयोगको निर्णयसँगै प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुला भएको थियो । यद्यपि उद्योग पक्षले चाहेमा उक्त निर्णयविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।
उपकार्यकारी निर्देशक श्रेष्ठले अब बक्यौता उठाउने प्रक्रिया अघि बढाइने बताए ।
“आयोगको निर्णय आएसँगै प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुलेको छ । अब बक्यौता उठाउनेतर्फ लाग्छौँ,” उनले भने, “यसअघि प्रधानमन्त्री कार्यालयले लाइन नकाटी बक्यौता उठाउन भनेको छ । तर, हाम्रो अन्तिम अस्त्र नै लाइन काट्ने हो ।”
प्राधिकरणले २०७६ चैत, २०८० मंसिर, २०८१ असार, २०८१ कात्तिक तथा २०८२ कात्तिकमा समेत बक्यौता उठाउने लाइन काटेको थियो ।
डेडिकेटेड तथा ट्रंकलाइन विवाद के हो ?
नेपालमा २०६० पछि विद्युत् अभाव सुरु भएको थियो । चरम अभाव र देशभर लोडसेडिङ सुरु भएपछि अत्यावश्यक सेवा तथा उद्योगहरूलाई निरन्तर विद्युत् आपूर्ति गर्न २०६९ मा सरकारले विशेष नीति ल्यायो ।
सोहीअनुसार डेडिकेटेड लाइन दिने निर्णय गरिएको थियो । त्यसबेला यस्तो सेवा लिने ग्राहकको संख्या करिब ३०० भन्दा बढी थियो ।
२०७२ असार १२ गते प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड लाइनमा प्रिमियम महसुल लगाउने निर्णय ग¥यो । त्यसपछि तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले २०७२ पुस २९ मा उक्त निर्णयलाई अनुमोदन गर्यो ।
अदालतको व्याख्या र महसुल निर्धारण
निर्णयअघि नै महसुल लगाइएको भन्दै केही उद्योग अदालत पुगेका थिए । शिवम् सिमेन्टले पनि मुद्दा दायर गरेको थियो ।
यसमा सर्वोच्च अदालतले महसुल निर्धारण गर्ने अधिकार आयोगलाई मात्र हुने र पश्चदर्शी (रेट्रोस्पेक्टिभ) रूपमा महसुल लागु गर्न नमिल्ने ठहर गरेको थियो । आयोगले तोकेको मितिदेखि मात्र अतिरिक्त महसुल लिन पाइने निर्णय गरिएको थियो ।
ट्रंकलाइनको हकमा २०७३ असार १६ गते मात्र २० घण्टाभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई डेडिकेटेड सरह महसुल लिन पाउने निर्णय गरिएको थियो । यो व्यवस्था ६ घण्टाभन्दा बढी लोडसेडिङ भएका बेला मात्र लागु हुने भनिएको थियो ।
त्यसपछि प्राधिकरणले २०७३ साउन १ देखि ‘विद्युत् महसुल संकलन विनियम, २०७३’ लागु गर्यो । २० घण्टाभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई अतिरिक्त बिल पठाउनुपर्नेमा सुरुमा सामान्य बिल मात्र पठाएको थियो । पछि २०७५ चैतमा एकैपटक अतिरिक्त बिल पठाइएपछि विवाद चर्किएको हो ।
टीओडी मिटरको डाटा समयमै डाउनलोड नगरी करिब साढे दुई वर्षपछि बिल पठाएको भन्दै उद्योगीहरूले आपत्ति जनाएका थिए । त्यहीकारण यो विषय समाधान हुन नसकेको हो ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया