

बालेनलाई प्रधानमन्त्री बनाउने रास्वपाको अन्तिम तयारी, बोलायो सचिवालय बैठक



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन र नेतृत्व चयनको प्रक्रियालाई तीव्रता दिएको छ ।
समानुपातिक सांसदहरूको नाम छनोट र संसदीय दलको नेता चयनका लागि विद्यमान विधान संशोधन गर्न रास्वपाले आगामी शनिबारका लागि सचिवालय बैठक आह्वान गरेको छ ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच बिहीबार भएको लामो संवादपछि यो निर्णय लिइएको हो ।
सभापति लामिछानेको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सचिवालय बैठकको समय र स्थान तय गरिने प्रवक्ता मनीष झाले जानकारी दिए । लामिछाने हाल चिकित्सकको सल्लाहअनुसार निवासमै आराम गरिरहेका छन् ।
रास्वपाले आफ्नो विधानको धारा ६६ मा रहेको संसदीय दलको नेता चयन सम्बन्धी व्यवस्थालाई परिमार्जन गर्न लागेको छ । हालको विधानमा साधारण सदस्यहरूले नै संसदीय दलको नेता चुन्न पाउने प्रावधान छ । तर, राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २५ ले निर्वाचित सांसदहरूले मात्रै आफूमध्येबाट नेता छान्ने व्यवस्था गरेको छ । कानुनसँग बाझिएको यो प्रावधानलाई संशोधन गरेर रास्वपाले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता निर्वाचित गर्ने योजना बनाएको छ ।
निर्वाचन आयोगले आइतबारभित्र समानुपातिक सांसदहरूको अन्तिम सूची पेस गर्न पत्राचार गरेसँगै रास्वपाले ५७ सिटका लागि उम्मेदवारहरूको नाम टुंगो लगाउन लागेको हो । सचिवालय बैठकपछि बस्ने केन्द्रीय समिति बैठकले उक्त सूचीलाई अन्तिम रूप दिनेछ ।
प्रतिनिधिसभामा १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेको रास्वपाले वरिष्ठ नेता शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । संसदीय दलको नेता चयन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया सुरु हुनेछ ।
सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच बिहीबार करिब दुई घण्टा संवाद भएको थियो । भेटका क्रममा सरकार गठन, मन्त्रिपरिषद् विस्तार र आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको बताइएको छ । रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार दुई शीर्ष नेताबीच नियमित संवाद भइरहेको र पार्टी अब ठोस निर्णयका साथ अघि बढ्ने तयारीमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया