कपिलवस्तुमा चुनावी झट्का : जिल्लाभर ८९ जनाको धरौटी जफत !

साझाकुरा, कपिलवस्तु | कपिलवस्तुमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ ले ठूला दलका नेतादेखि पूर्वमन्त्रीसम्मलाई ठूलो धक्का दिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ९८ जनामध्ये ८९ जनाको धरौटी जफत भएको तथ्य सार्वजनिक भएपछि राजनीतिक वृत्तमा सनसनी फैलिएको छ।
जिल्ला निर्वाचन कार्यालयले कपिलवस्तुका अनुसार निर्वाचनमा कुल खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको १० हजार रुपैयाँ धरौटी जफत हुने व्यवस्था अनुसार ठूलो संख्यामा उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्।
सबैभन्दा रोचक कुरा के भने, यसपटक चुनावमा लामो समयदेखि प्रभाव जमाउँदै आएका ठूला दलका उम्मेदवारसमेत धरौटी जोगाउन असफल भएका छन्। क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार विश्राम प्रसाद थारुले ७ हजार ९८२ मत मात्र पाए भने क्षेत्र नम्बर २ मा एमालेकै दीर्घ नारायण पाण्डेयले ७ हजार ३५७ मत पाउँदै आफ्नो जमानत जोगाउन सकेनन्।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीका कृष्ण कुवर (क्षेत्र नं. १) ले ४ हजार ६१६ मत र क्षेत्र नं. ३ का उम्मेदवार एहसान खालेले ४ हजार २५ मत मात्र पाए। पूर्वमन्त्री ईश्वर दयाल मिश्रासमेत ५ हजार १७ मतमा सीमित हुँदा उनको धरौटी जफत भएको छ।
निर्वाचन परिणामले कपिलवस्तुको राजनीतिक समीकरण नै उल्टाइदिएको देखिएको छ।
क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य निर्वाचित भए भने कांग्रेसका अतहर कमाल मुसलमान र स्वतन्त्र उम्मेदवार आषिश शर्माले मात्र यो क्षेत्रबाट आफ्नो धरौटी जोगाए।

क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम सिंह थापा विजयी भए। कांग्रेसका सुरेन्द्र आचार्य र नेकपाका वृजेश कुमार गुप्ताले मात्र जमानत जोगाए।
त्यस्तै क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेक प्रताप शाह निर्वाचित भए। रास्वपाका प्रकाश रजौरिया र एमालेका वीरेन्द्र कनौडियाले मात्र आफ्नो धरौटी जोगाउन सफल भए।
मतगणनाअनुसार क्षेत्र नम्बर १ मा ९७ हजार ३९४, क्षेत्र नम्बर २ मा ८० हजार ७५ र क्षेत्र नम्बर ३ मा ६९ हजार १८४ मत सदर भएको थियो।
यस परिणामले कपिलवस्तुको राजनीतिमा नयाँ शक्तिको उदय र पुराना नेताहरूको प्रभाव घट्दै गएको प्रष्ट पारेको छ ।

प्रतिक्रिया

खबर सबै