
कपिलवस्तुमा निर्वाचन लक्षित सुरक्षा : आजदेखि मदिरा बिक्री बन्द, ५ हजार बढी सुरक्षाकर्मी परिचालन

कपिलवस्तु । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । आज (बिहीबार)देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको मितिभन्दा सात दिन अगाडिदेखि नै मदिरा निषेध गर्ने निर्णय गरेको हो । आयोगका अनुसार स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो ।
यस्तै, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा बन्द गरिएको छ । निर्वाचन आचारसंहिता कडाइका साथ लागू गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिइसकेको छ ।
७२ घण्टा अघि सिमाना बन्द, ड्रोन उडाउन पनि रोक
सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि सिमानाका नाकाहरू सिल गरिनेछ । साथै, निर्वाचन अवधिभर ड्रोन उडाउनसमेत प्रतिबन्ध लगाइएको छ । तीन दिन मदिरा निषेधको निर्णयले जिल्लाभर सुरक्षा निगरानी थप कडा बनाइएको जनाइएको छ ।
२ सय ३६ मतदान स्थलको निरीक्षण, ५४ अति संवेदनशील
निर्वाचनलाई लक्षित गरी जिल्ला सुरक्षा समिति र कपिलवस्तुका तीनवटै निर्वाचन अधिकृतसहितको संयुक्त टोलीले २ सय ३६ मतदान स्थलका ४ सय ९१ मतदान केन्द्रको स्थलगत निरीक्षण सम्पन्न गरेको छ ।
प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार अनुगमनका क्रममा मतदान स्थलको भौतिक अवस्था, सुरक्षा प्रबन्ध, मतदान कक्ष व्यवस्थापन, मतदाताको पहुँच तथा आवश्यक पूर्वाधारबारे विस्तृत जानकारी लिइएको छ । निरीक्षणको प्रतिवेदन जिल्ला निर्वाचन कार्यालय र सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयमा लिखित रूपमा बुझाइसकिएको उनले बताए ।
अधिकांश मतदान स्थल विद्यालयमा रहेका छन् भने ८ भन्दा बढी मतदान केन्द्रमा घेराबार (छेकाबार) समेत नभएको पाइएको छ । यसले सुरक्षा चुनौती थप बढाएको सुरक्षा निकायको संकेत छ ।
सुरक्षा संवेदनशीलताको आधारमा ५४ मतदान स्थललाई ‘अति संवेदनशील’, १ सय २ स्थललाई ‘संवेदनशील’ र ७९ स्थललाई ‘सामान्य’ सूचीमा राखिएको छ ।
५ हजार बढी सुरक्षाकर्मी परिचालन, सेना पनि गस्तीमा
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मतदानका दिन कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रशासन पूर्ण रूपमा सतर्क रहेको उनले बताए ।
“मतदान स्थलहरूमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ । मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गर्दछु,” प्रजिअ गौतमले भने ।
निर्वाचनका लागि ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले नियमित गस्ती तथा निगरानी बढाएका छन् ।
प्रशासनको कडा सन्देश: ढुक्क भएर मतदान गर्न आह्वान
सुरक्षा निकायले सम्पूर्ण मतदान स्थललाई निगरानीमा राखेको जनाएको छ । शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षसँग समन्वय तीव्र पारिएको प्रशासनले स्पष्ट पारेको छ ।
कपिलवस्तुमा चुनावी सरगर्मी चरममा पुगिरहेका बेला प्रशासनको कडा कदमले निर्वाचनलाई अनुशासित र व्यवस्थित बनाउने संकेत देखिएको छ । अब नजर फागुन २१ मा हुने मतदानतर्फ केन्द्रित भएको छ—जहाँ सुरक्षा घेराभित्र मतदाताले आफ्नो जनादेश दिनेछन् ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया