निर्वाचन नजिकिँदै : कपिलवस्तुमा नेपाली सेनाको सघन गस्ती, सुरक्षा सतर्कता उच्च !

कपिलवस्तु । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा कपिलवस्तु जिल्लामा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको छ । फागुन २१ गते देशभर हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले तौलिहवा तथा आसपासका क्षेत्रमा सघन गस्ती सुरु गरेको छ । जिल्लाको संवेदनशील मानिएका स्थानहरूमा सेनाको सक्रिय उपस्थिति देखिन थालेपछि चुनावी माहोल थप चासोपूर्ण बनेको छ ।

तौलिहवा बजार, प्रशासनिक क्षेत्र, मुख्य सडकखण्ड तथा सम्भावित संवेदनशील मतदान केन्द्र आसपास नेपाली सेनाको टोली नियमित गस्तीमा खटिएको देखिएको छ । यसैगरी बाणगंगा नगरपालिका क्षेत्रमा समेत सेनाको टोलीले निर्वाचन केन्द्र तथा मतदान केन्द्रको स्थलगत अवलोकन गर्दै सुरक्षा अवस्थाको मूल्याङ्कन गरिरहेको छ । सुरक्षा निकायका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन तीन तहको सुरक्षा घेरा तयार गरिएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो तथा बाहिरी घेरामा नेपाली सेना परिचालन गरिएको जनाइएको छ । यस विचमा निर्वाचन प्रहरी पनि परिचालित हुने छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सबै सुरक्षा निकायबीच समन्वय बढाइएको जनाएको छ । निर्वाचनको दिन कुनै पनि अप्रिय घटना हुन नदिन संयुक्त सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । विशेष गरी विगतमा संवेदनशील ठहरिएका मतदान केन्द्रहरूमा थप सतर्कता अपनाइएको बताइएको छ ।

स्थानीय बासिन्दाले सेनाको उपस्थितिले सुरक्षा प्रत्याभूति बढेको प्रतिक्रिया दिएका छन् । “निर्वाचन शान्तिपूर्ण होस् भन्ने सबैको चाहना हो, सेनाको गस्तीले ढुक्क महसुस भएको छ,” तौलिहवाका एक स्थानीयले बताए । यसअघि निर्वाचन आयोगले तोकेको प्रचार–प्रसार अवधि अन्तिम चरणमा पुग्दै गर्दा राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो अभियान तीव्र पारेका छन् । चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको हो । कपिलवस्तु जिल्लासहित देशभर फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । करिब सबै मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मी परिचालनको तयारी भइरहेको छ ।

सुरक्षा निकायको सक्रियता र निगरानीले यसपटकको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ । कपिलवस्तु जिल्लाभर निर्वाचन सम्पन्न गराउन खटिने मतादन अधिकृत र साहायक मतदान अधिकृतहरुको टुङ्गो लागेको छ भने बाँकी कर्मचारी पनि तय हुँदै छन् । कपिलवस्तु जिल्लामा तीन निर्वाचन क्षेत्र छन् ।

यहाँबाट आगामी फागुन २१ को मतदानबाट तीन अनुहारले प्रतिनिधि सभामा प्रत्यक्ष उपस्थिती जनाउने छन् । जिल्लाभरबाट यसपटक ९८ जना प्रत्यासीहरु चुनावी मैदानमा उत्रिएका छन । यी मध्ये तीन जना मात्रै संसदको प्रवेश पाउने छन् ।

प्रतिक्रिया

खबर सबै